जेठ २०, काठमाडौं । बिभिन्न ठाउँबाट अवैध लागऔषधसहित चार जना पक्राउ परेका छन् । सप्तरी, बोदेबरसाईन नगरपालिका–२ बैरीया टोलबाट अवैध लागूऔषध गाँजा करिब ७ सय ५० ग्रामसहित सोही ठाउँ बस्ने ५३ वर्षीय जुगेश्वर साहलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
कन्चनपुर, बेलौरी नगरपालिका–१० दिपघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम ८ सय ४० मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका–११ बेला बस्ने २५ वर्षीय पदम बहादुर बोहरा समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
साथै उनीहरूले प्रयोग गरेको से.४ प ३९७६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।