भदौ ३०, सुर्खेत । सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ । छ महिनायता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामी जिन चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य छन् । सुर्खेतको रामघाटस्थित स्वास्थ्यचौकीका बरिष्ठ स्वास्थ्य सहायक धिरेन्द्र घर्तीले पखलाका बिरामीलाई खुवाउने जिन चक्कीको अभाव रहेको बताउनुभयो
। “पाँच/६ महिनादेखि स्वास्थ्यचौकीमा जिन चक्कीको अभाव छ,” उहाँले भन्नुभयो, “अन्य औषधिसमेत अभाव भएको छ । स्वास्थ्यचौकीमा आइरन चक्की र परिवार नियोजनका साधनको समेत अभाव हुने गरेको छ । यस्तै भेरीगङ्गास्थित छिन्चु स्वास्थ्यचौकीमा समेत जिन चक्की अभाव भएको बरिष्ठ स्वास्थ्य सहायक गोकर्ण बुढाले जानकारी दिनुभयो । एक वर्षदेखि जिन चक्कीको अभाव रहेको उहाँले बताउनुभयो । जिन चक्कीको अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।
स्वास्थ्यचौकीले उपलब्ध गराउने ४२ प्रकारका निःशुल्क औषधिमध्ये आधाजसो मात्र स्वास्थ्यचौकीमा उपलब्ध हुने गरेको उहाँले बताउनुभयो । त्यसैगरी स्वास्थ्यचौकीमा ग्याष्टिक, छाला, कानको समस्या भएका बिरामीलाई उपलब्ध गराइने औषधिसमेत अभाव भएको रहेको बुढाले बताउनुभयो । रामघाट र छिन्चुमा मात्र होइन जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ । छिन्चु स्वास्थ्यचौकीका बरिष्ठ स्वास्थ्य सहायक बुढाले यहाँ अभाव हुँदा कतिपय औषधि स्वास्थ्य संस्था आफैँले खरिद गर्ने गरेका छन् ।