जेठ २५, काठमाडौँ । काठमाडौँको सानो भर्याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एकजनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उक्त कम्पनीका व्यवस्थापक धादिङको नीलकण्ठ नगरपालिका–४ घर भई सोही ठाउँ बस्ने २४ वर्षीय दीपक श्रेष्ठ रहेका छन् । नक्कली स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्दै आएका अन्य दुईजना भने भाग्न सफल भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
भारत घर भई थानकोट बस्ने रोशन जैसवालले अवैध रूपमा विभिन्न कम्पनीको नाम तथा लोगो राखी गुणस्तरहीन ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने गरेको भन्ने सूचनाका आधारमा खोजतलासका क्रममा जाँदा एकजना पक्राउ परेका हुन् । उनको साथबाट पाँच लिटर, ५०० र १०० मिलिलिटरका समेत गरी २०० कार्टुन स्यानिटाइजर बरामद गरिएको छ ।
स्यानिटाइजर र कस्मेटिक कम्पनी खोली अवैध रूपमा भारतीय ब्रान्डका नक्कली सामान उत्पादन गर्ने भारतीय नागरिक जैसवाल र राजन जैसवाल फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।