जेठ २४, एजेन्सी । नाइजिरियाको उग्रवादी समूह बोको हरामका सर्वोच्च नेता अबुबकार सेकाउको मृत्यु भएको एक अपुष्ट समचार सार्वननिक भएको छ ।केही समाचार एजेन्सीहरुले नेता सेकाउले ‘आफ्नो ज्यान आफैँ लिएको’ दाबीसहितको एउटा विपक्षी लडाकू समूहले अडिओ रेकर्डिङ सार्वननिक गरेका हुन ।
समाचार संस्थाहरूले प्राप्त गरेको उक्त अडिओमा दुईवटा समूहबीचको लडाइँपछि सेकाउले आत्मघाती विस्फोटन गराएको इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी)ले जनाएको छ । एएफपी समाचार संस्थाबाट प्राप्त अडियो ट्रान्सक्रिप्टमा भनिएको छ, ‘भगवानले उनलाई स्वर्ग पठाएर उनीमाथि न्याय गरेका छन् ।’ तर यस दाबीको कतैबाट पनि पुष्टि हुन भने सकेको छैन ।
सन् २००९ मा बोको हरामका संस्थापक आफ्ना पिता मोहमद युसुफलाई प्रहरीले मारिदिएपछि उनले उक्त समूहको नेतृत्व आफ्नो हातमा लिएका थिए ।उनले बोको हरामको नेतृत्व सम्हालेयता मात्रै उत्तर पूर्वी नाइजिरियाको द्वन्द्वमा ४० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । साथै २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।