जेठ ६, काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले आफ्नो गृहजिल्ला रौतहटसहित प्रदेश-२ को लागि अक्सिजनसहित विभिन्न स्वास्थ्य सामाग्री पठाएका छन् । कोरोना संक्रमणको दर बढेसँगै स्वास्थ्य सामाग्री अभाव देखिएपछि मन्त्री साहले आफ्नो व्यक्तिगत तर्फबाट प्रदेश-२ को लागी अक्सिजन, मास्क, पीपीई, ग्लोब्स, अक्सिमिटर लगायतका सामाग्री पठाएका छन् ।

मन्त्री साहले पठाएको ३० ओटा अक्सिजन सिलिण्डर, २५ लिटर सेनिटाइजर, ५ हजार ओटा मास्क, २५ ओटा अक्सोमीटर, २५ सेट पीपीई, ५ बक्स ग्लोब्स बिहिबार प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलाई हस्तान्तरण गराइएको छ । अरु जिल्लामा पनि क्रमशस् वितरण गरिने मन्त्री साहको सचिवालयले जनाएको छ । भोलि शुक्रवार मन्त्री साहको निर्वाचन क्षेत्रमा पर्ने ६ वटै नगरपालिकालाई १० ओटा अक्सिजन सिलिण्डर, ५ लिटर सेनिटाइजर, १ हजार ओटा मास्क, १५ ओटा अक्सोमीटर, १५ सेट पीपीई, ३ बक्स ग्लोब्स उपलब्ध गराउने योजना रहेको मन्त्री साहको सचिवालयले जनाएको छ ।

मन्त्री साहको निर्वाचन क्षेत्र, रौतहट-३ मा कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गुजरा नगरपालिका, मौलापुर नगरपालिका, गरुडा नगरपालिका तथा देवाही गोनाही नगरपालिका रहेका छन ।