• २०८३ बैशाख १५ गते मङ्गलवार

थप ७१ बेवारिसे शव भेटिए गंगा नदीको किनारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २९, एजेन्सी । पछिल्ला केही दिन यता गंगा नदीले बगाएका बेवारिसे शव भारतको विभिन्न स्थानमा भेटिन थालेका छन् । पहिचान नखुलेका र कहाँबाट आयो भन्ने समेत यकिन नभएका यस्ता शवहरु भारतको उत्तर प्रदेश र बिहार जस्ता ठाउँमा पर्ने गंगा किनारमा भेटिन थालेका हुन् ।

कोरोना महामारीको बीचमा यति धेरै बेवारिसे शव भेटिनुलाई भने चिन्ताको विषय मानिएको छ । पछिल्लो पटक भारत बिहारमा अवस्थित गंगा नदी किनारमा बेवारिसे ७१ शव भेटिएका छन् । यसअघि पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन बढी शव भेटिएका थिए ।

पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शवहरु बक्सर जिल्ला प्रशासनले पोष्टमार्टम पछि खाल्डोमा गाडेको छ । तिनको डिएनएको नमूना भने सुरक्षित राखिएको छ । ती शव कसका हुन् र कहाँबाट यति धेरै जम्मा भए भन्ने खुलेको छैन । अहिले वर्षाको बेला नभएको र नदीमा जल सतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न नसकिने स्थानीय अधिकारीहरु बताउँछन् ।

कतिपयले भने कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव जलाउने दाउराको मूल्य महँगो भएकाले निजलाई त्यत्तिकै फालिदिएको हुनसक्ने अनुमान समेत गरेका छन् । बक्सर जिल्लाका एसपी निरज कुमार सिंहका अनुसार शवहरु सडेका थिए । शवको अवस्था अत्यन्त खराब भएकाले घाटमै पोष्टमार्टम गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस