• २०८३ असार ५ गते शुक्रवार

कविता “निरर्थक गन्थन”

रामकृष्ण देवकोटा पढ्न लाग्ने समय : १ मिनेट

सम्झनाका मुर्दाघरहरुमा तिमीहरु
पीडाका आँशु खसाल्छौ की खसाल्दैनौ ?
म त, आँशुको साउने झरी वर्साईरहेको हुन्छु,
हाँसो अनि सुखका बलेसीहरु नचुहँदै
संबेदनाका रिजर्भभ्वाएरहरु भर्छौ कि भर्दैनौ?
म त, आत्मसम्मानका दुई टुक्रा गन्थन-मन्थन मन्छिदै
दु:खका रक्तविजहरु पर्साईरहेको हुन्छु,
।।१।।

मनमा गुम्सेका अर्धचेत भावना सुनाउन
अविच्छिन आतुर भइरहेको हुन्छु,
अनुभुतीको एक्लो यात्रामा
बेदना पोख्‍ने निहुँमा उससँग रमाईरहेको हुन्छु,
ऊ, म माथि कृत्रिमताको हाँसो उडाउँदै
मिथ्या बनाई दिन्छ हृदयका शब्दकोषहरु,
निराशा मेरो हो उसको होईन
ब्यथा मेरो हो उसको होईन
ऊ, हात उठाउँछ मेरो विरुद्ध गुटको लागि
लात उठाउँछ मेरो विपरित रुटको लागि,
।।२।।

कुँडिएको मन नचुडाल्ने वाहनामा
तीता भोगाईका कलविषहरु ओकल्न
कान फुक्न खोज्छु कसैसँग,
आँखा जुधाएर साउती मार्ने प्रयत्‍नमा
वक्ष ढलाएर झुक्न खोज्छु कसैसँग,
ऊ मुख चेर्प्याउदै प्रतिउत्तरमा
भोलीको लागि मिति तोक्छ
पर्खाईको लागि तीथि तोक्छ,
दुखाई मेरो हो उसको होईन
घाउ मेरो हो उसको होईन
ऊ, दु:ख र घाउको पहाड चुलाउँछ
निरश जीवनमा ब्यथा फुलाउँछ,
।।३।।

यसै गरी जीवनका प्रोफाइलहरु
पराजयका विसेक नहुने आला घाउ बनेर
निरपेक्ष तरंगमा कम्पदै कम्पिदै
बौरिएका छन् मेरा रोदन र क्रन्दनका लागि
अफशोच! म अझै उसैसँग अन्त:स्मृति साटिरहेछु,
ऊ टेरपुच्छार नलाई अगाडी बढ्छ
म जीवन जीजीविषाको एक मुठ्ठीमा
निरर्थक गन्थनको तन्द्रायाङ-तुन्द्रुङ बाटिरहेछु,
एउटा नटुङ्गिएको व्यथाको अन्त्याईमा ………………
।।समाप्‍त।।

Sharing

प्रतिक्रिया दिनुहोस