मानिसको जीवन सधैं एउटै रेखामा बग्दैन। कहिले उकालो आउँछ, कहिले ओरालो। कहिले आँसुका भेल बग्छन्, कहिले खुसीका लहरहरू उठ्छन्। तर एउटा सत्य सधैं अटल रहन्छ-संघर्ष बिना जीवनको अर्थ अधुरो हुन्छ।

हिमालको काखमा बसेको एउटा सानो गाउँ थियो। गाउँका बीचमा चौतारी, वरिपरि देउराली र भन्ज्याङ, हरिया पाखापखेरा, खोल्साखोल्सी र बनजंगलले सजिएको त्यो गाउँमा जन्मिएको थियो संखधोज। गरिब किसान परिवारमा जन्मिएको संखधोजको बाल्यकाल सुखद भन्दा बढी संघर्षमय थियो।
बिहान घाम उदाउनुअघि नै उठ्नुपर्थ्यो। कहिले घाँस काट्न जंगल, कहिले दाउरा ल्याउन भीरपाखा, कहिले खेतमा गोडमेल, कहिले मेलापात र भारोपर्म। उसका बुबाआमा दिनरात हलो–जुवा र खेतबारीमै व्यस्त हुन्थे। घरमा अभाव थियो, तर मायाको कमी थिएन।
संखधोजले विद्यालय जानुअघि नै गाईबस्तु चराउन सिकिसकेको थियो। विद्यालयको झोला बोकेर उकालो चढ्दै गर्दा उसले कति पटक भोकै दिन बितायो, उसैलाई थाहा थियो। तर उसको मनमा एउटा सपना थियो—पढेर केही बन्ने।
गाउँका साथीभाइसँगको रमाइलो, चाडपर्वको उल्लास, चौतारीमा बसेर सुनिने लोकगीत, देउरालीमा खेलिने खेल—यी सबै उसको जीवनका सुन्दर सम्झना थिए। तर ती सम्झनाभित्र पनि संघर्षको गहिरो रेखा थियो।
समय बित्दै गयो। धेरै दुःख, मेहनत र अभावका बीच संखधोजले एसएलसी उत्तीर्ण गर्यो। गाउँभरि खुसी छायो। बुबाआमाको आँखामा गर्वका आँसु थिए।
तर एसएलसीपछि अर्को प्रश्न उभियो—अब के गर्ने?
उसको रहर थियो सहर गएर पढ्ने। तर काठमाडौंमा कोठा भाडा तिर्ने पैसा कहाँबाट ल्याउने?
यही बेला उसको मिल्ने साथी बैकुण्ठेले हात थाम्यो।
“हामी सँगै बसौंला, जे पर्छ बाँडौंला,” बैकुण्ठेले भन्यो।
दुवै साथी काठमाडौं आए।
काठमाडौं उनीहरूले कल्पना गरेको शहर जस्तो थिएन। यहाँ सपना देख्न सजिलो थियो, तर सपना पूरा गर्न अत्यन्त कठिन।
कहिले कोठा भाडा तिर्न समस्या, कहिले कलेजको शुल्क जुटाउन समस्या। धेरै दिन उनीहरूले चिया, बिस्कुट र चाउमिनकै भरमा रात काटे।
कहिलेकाहीँ खर्च धान्न नसकेर उनीहरू काठमाडौंका गल्लीहरूमा गिटी–बालुवा बोक्ने काममा समेत लागे। हातमा किताब र काँधमा गिटीको भारी बोकेर हिँड्दा उनीहरूलाई जीवनले परीक्षा लिइरहेको जस्तो लाग्थ्यो।
तर हार मानेनन्सं । खधोजले आइए पास गर्यो। त्यसपछि बीए पढ्न थाल्यो।भाग्यले एक दिन नयाँ मोड ल्यायो।उच्च शिक्षाका लागि विदेशमा छात्रवृत्ति खुल्यो। प्रतिस्पर्धा कठिन थियो। अन्ततः संखधोजले मात्र छात्रवृत्ति प्राप्त गर्यो ।
बैकुण्ठे खुसी थियो, तर उसको मनको कुनामा साथी छुट्ने पीडा पनि थियो ।
“जा साथी, तेरो सफलता हाम्रो गाउँको सफलता हो,” भन्दै उसले संखधोजलाई बिदाइ गर्यो ।
विदेश पुगेपछि संखधोजको जीवन फेरिन थाल्यो। पढाइसँगै काम गर्दै उसले नयाँ संसार देख्यो। आधुनिकता, अनुशासन र अवसरहरूले भरिएको त्यो देशमा उसले आफ्नो भविष्य निर्माण गर्न थाल्यो ।
त्यही क्रममा उसको भेट जुनकिरीसँग भयो ।
जुनकिरी पनि मेहनती, संघर्षशील र संवेदनशील युवती थिई।
दुवैबीच मित्रता भयो। मित्रता प्रेममा बदलियो। अन्ततः उनीहरू विवाह बन्धनमा बाँधिए ।
विवाहपछि उनीहरूले झन् मेहनत गरे। उच्च शिक्षा पूरा गरे। राम्रो जागिर पाए। जीवन क्रमशः सहज बन्दै गयो।
एक दिन उनीहरू छुट्टी मनाउन नेपाल फर्किए ।
काठमाडौंमा उनीहरूले ठूलो घर किने। महलजस्तै घर।
संखधोजले गाउँबाट आफ्ना वृद्ध बुबाआमालाई पनि काठमाडौं ल्यायो ।
तर गाउँको माटोमा हुर्किएका ती बृद्ध मनहरू सहरमा रमाउन सकेनन् ।
उनीहरू बिहान उठेर खेत खोज्थे। चौतारी सम्झिन्थे। गाईभैंसीको आवाज सम्झिन्थे ।
“बाबु, हामीलाई गाउँ फर्काइदेऊ,” बुबाले एकदिन भने।
“किन बा? यहाँ सबै सुविधा छ नि ।”
बुबा मुस्कुराए ।
“सुविधाले मात्र जीवन बन्दैन बाबु। हाम्रो प्राण त त्यो पाखापखेरा, जंगल र खेतबारीमा छ। लैनो भैंसीको दूध, घरको दही, घिउ र मठ्ठाको स्वाद यहाँ कहाँ पाइन्छ र ?” संखधोज मौन भयो । उसले महसुस गर्यो—जरा जहाँ हुन्छ, मन पनि त्यहीँ बस्दोरहेछ ।
केही समयपछि ऊ र जुनकिरी फेरि अस्ट्रेलिया फर्किए । समय बित्दै गयो । उनीहरूका दुई सन्तान जन्मिए—छोरा राजन र छोरी सुनमाया । दुवै हुर्किंदै गए । विदेशी वातावरणमा पढे । आधुनिक जीवनशैलीमा रमाए । तर एउटा कुरा संखधोज र जुनकिरीलाई पिरोल्न थाल्यो । राजन र सुनमायाले नेपाली भाषा बोल्न छोड्दै थिए । उनीहरूलाई नेपालभन्दा विदेशी संस्कृति प्रिय लाग्न थालेको थियो । एकदिन संखधोजले छोराछोरीलाई आफ्ना संघर्षका कथा सुनायो ।
गाउँका उकालो–ओरालो, घाँस–दाउरा, भोक र अभाव, चिया–बिस्कुटको भरमा बितेका रात, गिटी–बालुवा बोकेका दिन, अनि आजको सफलताको कथा।
कथा सुन्दै गर्दा राजन र सुनमायाका आँखा रसाए ।
“ड्याड, हामीलाई त थाहै रहेनछ तपाईंले यति धेरै दुःख भोग्नुभएको रहेछ,” राजनले भन्यो ।
संखधोज मुस्कुरायो ।
“बाबु, यो घर, यो सुविधा, यो सफलता आकाशबाट झरेको होइन। यसका पछाडि हजारौँ दिनको पसिना र हजारौँ रातको भोक लुकेको छ ।”
जुनकिरीले थपिन्:
“मानिस जहाँ पुगे पनि आफ्नो भाषा, संस्कृति र जन्मभूमिलाई कहिल्यै बिर्सनु हुँदैन ।”
त्यो दिनपछि राजन र सुनमायाले नेपाली भाषा सिक्न थाले । नेपालबारे पढ्न थाले । आफ्ना हजुरबुबा–हजुरआमाको कथा सुन्न थाले । जीवनले संखधोजलाई एउटा ठूलो सत्य सिकाएको थियो :
सडकमा गिटी बोक्ने मानिस पनि एकदिन महलको मालिक बन्न सक्छ । र, महलमा बस्ने मानिस पनि आफ्नो विगतको संघर्ष बिर्सनु हुँदैन ।
किनकि भाग्य आफैंले केही दिँदैन । कर्मले भाग्य बनाउँछ ।
आज संखधोज आफ्नो जीवन फर्केर हेर्दा बुझ्थ्यो: यदि गाउँको घाँसदाउरा, उकालो–ओरालो, भोक र अभाव नभएको भए, शायद ऊ यहाँसम्म पुग्ने थिएन ।
आखिर जीवनको वास्तविक विद्यालय त संघर्ष नै रहेछ ।
संघर्षले मानिसलाई झुक्न सिकाउँछ, उठ्न सिकाउँछ, सहन सिकाउँछ र अन्ततः जित्न र जिउन पनि सिकाउँछ ।
त्यसैले त भनिन्छ:
“जीवनको सबैभन्दा ठूलो गुरु संघर्ष हो, र संघर्षलाई जित्ने मानिस नै वास्तवमा सफल मानिस हो । किनकि संघर्ष नै जीवन हो ।”