चैत ६, काठमाडौँ । आजको प्रतिनिधिसभाको बैठकमा धेरै पटक अनुपस्थिति हुने सांसदको नाम सार्वजनिक भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको ११ भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम पढेर सुनाए । जसअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार २५ वटा बैठकमा अनुपस्थित भएका छन् ।

उनले संसदमा उपस्थित हुन नसक्नुको कारण अस्वस्थ भएको उल्लेख गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकै सांसद सूर्यबहादुर केसी २१ बैठकमा अनुपस्थित थिए । उनको निधन भइसकेको छ । नेकपा एमालेकी सांसद नविना लामा १९ बैठकमा अनुपस्थित भएकी छन्, उनले उपचारका लागि भारत गएकाले अनुपस्थित भएको कारण पेश गरेकी छन् ।
१७ बैठकमा अनुपस्थित भएकी सांसद कलिला खातुनले इद मनाउन विदा लिएको उल्लेख गरेकी छन् । त्यस्तै नेकपा एमालेकी सांसद यसोदा सुवेदी गुरुङ र निर्जला राउत १४ बैठकमा अनुपस्थित भएका छन् । उनीहरु अस्वस्थ भएको कारण उल्लेख गरेका छन् ।
सांसद सुरेशचन्द्र दास १३ बैठक, गणेश सिंह ठगुन्ना महेन्द्रकुमारी लिम्बु, रुही नाज ११ बैठकमा अनुपस्थित भएका छन् । सांसद दासले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि जिल्ला गएको, ठगुन्नाले घरायसी काम, लिम्बुले विदेशमा औषधी उपचार, रुही नाजले रमजान पर्व मनाउन विदा लिएको उल्लेख गरेका छन् । सांसद केदार सिग्देल १० बैठकमा अनुपस्थित भएका छन् र उनले आफू घरायसी कामले आउन नसकेको बताएका छन् ।