माघ ९, काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने वकिलहरुको संख्या लामो रहेको र फैसलामा ढिलाइ हुने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहस छिटो टुंग्याउन आग्रह गर्नुभएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाईमा रहेको मुद्दामा १३ वटा रिट निवेदन भएको र ठूलो संख्यामा कानुन व्यवसायीहरूले वकालतनामा दर्ता गराएकोले अन्तिम फैसलासम्म पुग्न ढिलाइ हुने उहाँको भनाइ थियो । यसअघि पनि इजलासमा एकै वकिलले करिब तीन घण्टा बहस गरेपछि समयको् ख्याल गर्न न्यायाधीहरुले ध्यानाकर्षण गराएका थिए । शुक्रबारको बहसमा पनि प्रधानन्यायधीश जबराले वकालतनामा दर्ता गर्नेको संख्या ठूलै भएकाले कानुन व्यवसायीहरूलाई बहस छिटो टुंग्याउन आग्रह गर्नुभयो ।
शुक्रबार इजलासमा सुनुवाइ सुरु भएसँगै रिट निवेदकका तर्फबाट अधिवक्ता कोपिलप्रसाद अधिकारीले बहस सुर गर्न लाग्दा प्रधानन्यायाधीश जबराले १० मिनेटमा बहस सक्न आग्रह गर्नुभयो । अधिवक्ता अधिकारीले भने आफूलाई १५ मिनेट समय चाहिने बताउनुभयो । तर झन्डै तीन सय जनाको वकालतनामा रहेको भन्दै प्रधानन्यायाधीश जबराले सबैलाई समय दिन नपुग्ने अवस्था आउन सक्ने चिन्ता जाहेर गर्नुभयो । उहाँले आफूहरूलाई एकदम हतार भएको पनि सुनाउनुभयो ।