पुस १३, धरान । अनधिकृतरुपमा औषधी बेचबिखन गर्ने धरान १५ सदन रोडमा रहेको मुसरत मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । नेपालमा अनाधिकृत औषधी बेचबिखन गरिरहेको आरोपमा सौजात आमल पक्राउ परेका हुन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपािलका ६ घर भएका आलम धरानमा मेडिकल सञ्चालन गरेर बसेका थिए । आफ्नै मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
उनको मेडिकल हलबाट बट्टामा ७ सय ट्याब्लेट र खुला अवस्थामा ५९० ट्याब्लेट वरामद भएको प्रहरीले जनाएको छ । अवैध औषधीसहित पक्राउ परेका आलमलाई आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।