मंसिर ३०, सप्तरी । सरिता गिरीले आफूलाई चीनको इसारामा उपेन्द्र यादवले सांसद पदबाट हटाएको बताएकी छन् । उनले यो कार्यमा नेकपा नेतृत्वको सरकार र जनता समाजवादी पार्टीका नेताहरु समेत मिलेको बताइन् ।
‘आफूलाई दल त्याग ऐन अनुसार निकालेको भनिएपनि दल त्याग नगरेको सबैलाई थाहा छ’ सप्तरी सदरमुकाम राजविराजमा उनका समर्थकहरुले सोमबार आयोजना गरेको मधेश जनसभालाई सम्बोधन गर्दै उनले भनिन्, “चीनको इसारामा आफ्नै नेताहरुले आफूलाई बलजफ्ती रुपमा निकालेका हुन् ।”
आफूलाई सांसद पद र साधारण सदस्य समेतबाट निकालेपछि पार्टीका नेता र चीनका राजदूतले भिडियो कन्फ्रेन्स गरी खुशियाली मनाएको समेत उनले आरोप लगाईन् । ‘आफूलाई सांसद पदबाट निकालेपछि चीनका राजदूत पार्टी कार्यालयमै आउन चाहेकी थिइन’ गिरीले भनिन्, “तर नेताहरुले यहाँ नआउनुस । भिडियोमै खुशियाली मनाऔं भनेपछि उनी भिडियोमै कुरा गरिन् ।”
चीनका राजदूतसँग उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, अशोक राई र रेणु यादवले खुशीयाली मनाएको उनले बताइन् ।
उपेन्द्र यादवले चीनको इसारामा मधेशलाई देशलाई बनाउन खोजेको उनले आरोप समेत लगाइन् । ‘बाबुराम उपेन्द्र मधेशमा आएर राष्ट्रपति प्रणाली चाहिन्छ भनिरहेका छन्’ गिरीले भनिन्, “उनको यो तिब्बत बनाउने योजना हो । त्यसका निम्ति बाबुराम भट्टराईलाई जिम्मेबारी दिइएको छ । जसमा उपेन्द्र पनि संलग्न छन् ।” मधेशमा चिनियाँ प्रभाव बढाउनकै निम्ति भट्टराई यादवसँग मिलेको उनले बताइन् । भारतसँग मित्रवत सम्बन्ध रहेकै कारण नेकपा र चीनको संलग्नतामा मधेशका नागरिकको नागरिकता अधिकार खोसिएको उनले बताइन् । ‘नेपाल र भारतबीच रोटीबेटीको, संस्कृतिको सम्बन्ध छ’ उनले भने, “यो सम्बन्धलाई कसैले तोड्न सक्दैन् ।” चीन सरकारलाई नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्न उनले चेतावनी समेत दिइन् ।