• २०८३ बैशाख १६ गते बुधवार

च्याम्पियन्स लिग : आज मेस्सी र रोनाल्डो भिड्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २३, एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा आज मंगलबार राति बहुप्रतिक्षित दुई टोली युभेन्टस र बार्सिलोनाको खेल हुँदैछ । इटालियन च्याम्पियन युभेन्टस र स्पेनिस जायन्ट बार्सिलोनाबीचको खेल स्टार खेलाडीद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको प्रतिष्ठाको लडाइँको रूपमा पनि हेरिएको छ ।

पुराना प्रतिद्वन्द्वीसमेत रहेका यी दुईले दुई वर्षपछि पहिलोपटक एक–अर्काविरुद्ध खेल्न लागेका हुन् । सन् २००८ देखि २०१७ सम्म ब्यालोन डी’ओर उपाधि एकआपसमा जितेका यी दुई रोनाल्डो युभेन्टस नपुग्दासम्म स्पेनिस लिगमा नै प्रतिस्पर्धा गर्दथे । सन् २००९ मा रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिड आएपछि एक अर्काबीच प्रतिस्पर्धाले उच्च विन्दु छोएको थियो ।

बार्सिलोनाको मैदान क्याप नोउमा हुने समूह चरणको अन्तिम खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यस खेलको हार–जितले दुवै टोलीलाई कुनै फरक पार्दैन । किनकि, युभेन्टस र बार्सिलोना दुवैले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । अपराजित रहेको बार्सिलोना शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो भने युभेन्टस दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।

समूह ‘जी’ मा बार्सिलोना १५ अंकसहित शीर्ष स्थानमा रहँदा युभेन्टस १२ अंकसहित दोस्रो स्थानमा छ । यस खेलमा युभेन्टस बार्सिलोनाविरुद्ध हारको बदला लिने दाउमा हुनेछ । यसअघि बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा २–० गोलले हराएको थियो । बार्सिलोना भने युभेन्टसविरुद्ध लगातार जित निकाल्ने दाउमा छ ।

समूह चरणको पहिलो खेलमा रोनाल्डो कोरोना भाइरस संक्रमणका कारण अनुपस्थित रहँदा खेल केहि खल्लो भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस