शिशुपाललाई सय बार सम्झाउँदा पार लगेन र सुदर्शन चक्र देखाए तैपनि नसच्चिए पछि कृष्णले सुदर्शन चक्र चलाउनु परेको थियो । सिद्धान्त सही भएर पनि त्यसलाई खालि पाठ गर्ने र दराजमा थन्क्याउने काम गर्नु हुँदैन भन्ने माओको शिक्षा ओलीबाट सिके हुन्छ । शत्रुहरुका नरम, कठोर छल कपटहरुका अगाडि अनेक खालका आग्रह र दुराग्रहबस निशस्त्र भएर रहने नेकपाका कतिपय नेताहरु माओले भनेझैँ प्रतिक्रान्तिकारीका मतियार हुन सक्छन् ।
संसारकै तेस्रो ठूलो पार्टी नेकपाका भावी अध्यक्षका प्रबल दावेदार हाल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड के गर्दै हुनुहुन्छ ? यो कुरा नेपालले मात्र होइन संसारले नै एक टक लगाएर हेरिरहेको अवस्था छ । त्यसैले यो पार्टी र यसले नेतृत्व गरेको विगत सरकारका तुलनामा अत्यन्त सफल प्रधानमन्त्री ओली विरुद्ध पार्टीको माथिल्लै तहका केही नेताहरु गोयबल्स शैलीका बर्दी बिनाका साइबर सेना सरह सक्रिय रहेको लेखकले देखेको छ र तिनले ओलीलाई जुनसुकै विषयलाई पनि बंग्याउँदै भ्रम सिर्जना गर्दै पासोमा पार्न धेरै अघिदेखि भरमग्दुर प्रयत्न गरेको यस लेखकलाई थाहा छ ।
तर, उनीहरुले बोकेको पासो आफ्नै गलपासो भएको स्पष्ट भइसकेको छ र हुनेछ । यस्तै नेताका कारण सडकमा ओली विरोधी बर्दीधारी साइबर सेना प्रोत्साहित भएको स्पष्ट हुन्छ । यस्ता कृत्यमा मानवअधिकार कर्मी नामका पहाडी थरका दाहाल पीतवस्त्र खोलेर ओली विरुद्ध सडकमा उत्रन तम्तयार देखिन्छन् । खुसी, खोकी, प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्तैन भनेझैँ कर्णाली प्रदेशको सरकारमा उत्पन्न समस्या दुवै अध्यक्षको सहमतिमा समाधान भएको विषयलाई प्रचण्डले मात्र जारी गरेको विज्ञप्ति सरासर झुट रहेको स्पष्ट हुन्छ ।
मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्देशनले त्यसमा उत्पन्न सबै विषयलाई समग्रमा सच्याउने भन्ने अति सामान्य सरल विषयलाई कुहिराको काग बनाउने हेतुले तपाईंले निर्देशन जारी गरेको स्पष्ट हुन्छ । समान प्रकृतिका गल्ती गर्ने दुवैलाई फरक फरक प्रकृतिको फैसला हुन्छ ? एउटालाई सफाइ र अर्कोलाई भित्ता पु¥याउने गरी दण्ड दिने कुरा राणा शासनमा त हुन्थ्यो अहिले प्रचण्ड कालमा पनि हुँदो रहेछ ?
दुई दिन पनि नटिक्ने बोली बचन र व्यवहार गर्न थाल्नु भयो भने भोलि कुन भुइँमा उभिनुहुन्छ कमरेड, त्यसैले तपाईँको विगत, वर्तमान र यसका आधारमा भविष्य समेत आंकलन गर्ने क्षमता मानिसहरु तपाईँका व्यवहारलाई सूक्ष्म रुपमा हेरिरहेका छन् भन्ने कुरा बेलैमा ज्ञात रहोस् ।
प्रचण्ड कमरेड यो देशमा विवेक बिक्री गर्ने मात्र होइन यसलाई जोगाएर लेख्ने विद्वान् लेखक पनि छन् तिनले तपाइँहरुका बारेमा गम्भीर टिप्पणी गरेका छन् । सुप्रसिद्ध तथा प्रकाण्ड बौद्धिक व्यक्तित्व सौरभले असंगति नामको कृतिमा हिजो सम्म ओलीलाई उस्तो महत्व नदिने जनमानसले जान्यो, माधव नेपाल र झलनाथ खनाल नामका पात्रहरुले उन(ओली)लाई बेपत्तासित थिचेर राखेका रहेछन्, भनेका छन् पृ.३६ । त्यसैगरी प्रसिद्ध लेखक कृष्णमुरारी भण्डारीले ०७४-११-२५को नागरिक पत्रिकमा एमालेका नेता माधवकुमार नेपाल र प्रचण्डहरुले ओलीलाई टिक्नखान देलान् भनेका थिए ।
तपाईहरुकै कारण अधिकांश मिडिया ओली विरोधी राग गाउन रमाउँछन् । यस्तै खालका नेकपाका पात्रहरु खोजीखोजी र रोजीरोजी सरकार र ओली विरोधी विचार प्रवाह गर्छन् । ग्यालिलियो र ब्रुनो एक्लै थिए तर समय क्रममा तिनैका पछि आम जनता पनि लागे । एक्लो डा. मोदनाथ प्रश्रितले नेपाल एकीकरण जस्तो सर्वाधिक गौरवशाली ऐतिहासिक गाथा र गानलाई राष्ट्रव्यापी रुपमा पुनर्जीवित गर्नु भएको हो । एक्लो सत्यले हजार झूटलाई परास्त गरिदिन्छ ।
तर, झुटबाट प्रभावित भएर त्यस कित्तामा उभिएको व्यक्तिलाई सही बाटामा ल्याउन धेरै मिहेनत गर्नुपर्छ । तसर्थ यस्ता विषयमा बेलैमा ध्यान दिनुपर्छ । तपाईलाई सही सल्लाह दिने नेकपामा दीनानाथ शर्मा, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी र मणि थापा लगायत नेताहरु पनि छन् । भड्काउ नेता र कार्यकर्ताको कमी छैन ।
पार्टीको वरिष्ठ नेता तथा प्रवक्ता लगायतले कोरोनाको उपचारमा सरकारले हात उठाएको भनेर सर्वथा अनुचित, अनुपयुक्त र सामान्य अनुशासन विपरीत वक्तव्य जारी गरेर जग हँसाइरहेका छन् । यिनले कहिले कुलमानलाई देवत्वकरण गर्छन्, कहिले अनावश्यक बखेडा खडा प्रधानमन्त्री ओलीलाई काममा उल्झन खडा गरिरहन्छन् ।
बोल्नै पर्दैन तस्वीर आफैँ बोल्छ, कमरेड तपाईका आँखा र अनुहार पढेर पनि तपाईँको आशय र दुराशय थाहा हुन्छ । श्वेतपत्र जारी गर्नु परेको देशको स्थितिमा तपाईंले इटहरीमा आजै र अहिल्यै सरकारले ज्येष्ठ नागरिक भत्ता नबढाएकामा कार्यकर्ता भड्काउने जस्ता अनेक खालका भड्काउ बोली बोलेको रेकर्ड यस लेखकसित छ । यसैलाई मिडिया र सामाजिक सन्जाललाई भाइरल बनाएर आम जनतालाई उत्तेजित बनाइरहेको देखिन्छ ।
यस्ता गतिविधिहरु ओली सरकार बन्दादेखि नै पार्टीकै उपल्ला नेताहरुले सुविचारित तथा सुनियोजित रुपमा गरिहेकै थिए र छन् । तिमी सित जे छ त्यही शक्ति हो । विचार सबै भन्दा ठूलो शक्ति हो । यसले मरेपछि पनि बचाउँछ । फाउन्डेसनको विरोध जबजको विरोध हो, जबजको विरोध जननेता मदन भण्डारीको विरोध हो । बाँच्ता पनि विरोध मर्दा पनि विरोध , तर समय परिस्थितिले मानिसलाई सही विचार मान्न बाध्य बनाउछ, इतिहासले समय क्रममा पाठ सिक्न बाध्य पार्छ ।
जबजले निरुपण गरेको समाजवाद बुझेपछि अधिकांश नेता तथा अगुवा कार्यकर्ता सही विचारतिर आकर्षित हुन्छन् । जवज रक्षकहरु नेकपामा छन् । पार्टीको भुइँ तह अहिले पनि खस्केको छैन । टाउका टाउका मिलेर भागबन्डा गर्ने सपना नदेखे हुन्छ । यही कुरा बुझेर जबज विरोधीहरु मदन भण्डारी फाउन्डेसनदेखि आत्तिएका हुन् ।
पिँध बिनाका लोहोटाहरु सदा ढुलमुल हुन्छन् र ती र हुलमुल मात्र मन पराउँछन् । बोक्रा, पलाँस, हाँगा बिगा बिँगा धेरै हुन्छन् र छन् तर जबजको चुरो ज्युँकात्युँछ जब आवश्यक पर्छ तब चुरो जबजलाई बचाउन सय वर्ष लडा, खडा र पडा हुन तयार भएर देखापर्छ । तर सैद्धान्तिक उग्रवाद र अवसरवाद सप्रिने भन्दा सक्किने बाटामै लाग्ने खतरा हुन्छ जस्तो विचरा बाबुराम भट्टराई ।
मदन भण्डारीमा पनि एक समय उग्रवाद हाबी थियो । यस्तो हुन्छ र हुनसक्छ तर आग्रह रहित सोच राख्नेहरु समयमै सच्चिन्छन् । आदत र आग्रहका दासहरु एक दिन आफैँ समाप्त हुन्छन् ।
कमजोर मानिस बदलाको भावना राख्छन्, बलशालीहरु माफ गरिदिन्छन् बुद्धिमानहरु बिर्सिदिन्छन् भनेझैँ नेकपाका केही उपल्ला तहका नेताहरु ओली फोविया ग्रस्त देखिन्छन् । तर मदनझैँ ओली वर्तमान र भविष्य हेर्नुहुन्छ ।
आग्रह राखेको भए र राख्ने भए प्रचण्ड थैव लगायत तत्कालीन माओवादी पार्टीको सांघातिक हमलामा परेर पूर्ण अपांगता भएका र मृत्युवरण गर्न विवश नेता कार्यकर्ता हजाराँै हुँदाहुँदै यो एकता हुन्थ्यो ? तर पनि ओली फोबिया ग्रस्त केही नेताको निद्रा हराम भएको छ ।
दुर्भीति या फोबिया एक प्रकारको मनोविकार हो, यो व्यक्तिलाई विशेष वस्तु, परिस्थिति, या क्रियाहरुबाट डर लाग्ने, घवराहट हुने जस्ता चिन्ताको विरामी हो । यो रोग बढ्दै गयो कुनै मानिस बौलाउने खतरा हुन्छ । कृपया यस्तो चाहिँ नहोस्, किनकि तिनले ओलीको कार्यकाल र उहाँपछिको कार्यकाल तुलना गर्ने चेतसम्म रहने अवसर पाउनु पर्छ ।
बौद्ध भिक्षुणी आनी पहिले कहिल्यै कसैले नसोचेको र नगरेको तुइन विस्थापन गर्न उद्यत ओली सरकारलाई व्यक्तिगत रुपमा एक करोड आर्थिक सहयोग गर्छिन् । तर त्यहीँ देश, जनता र जनजीविकाको हितका लागि लामो संघर्ष गरेका प्रचण्ड लगायतका नेताहरु ओली फोबियाबाट ग्रस्त देखिन्छन् र आफ्ना नितान्त निजी स्वार्थमा केन्द्रित भएर कम्युनिष्ट आन्दोलन समाप्त पार्न भगीरथ प्रयत्न गर्दै छन् ।
पार्थ उपनामका कार्कीथरि कमरेडले ओली सरकार पूर्वराजाका अध्यक्षताको सरकारजत्तिको लायक नभएको, यही सरकारका कारण आफूलाई कम्युनिष्ट हुँ भन्न लाज लागेको बताएर आफ्नै सरकारको धज्जी उडाएका थिए । उनै कार्कीथरि कामरेडले केही समय अघि पार्टी काममा निरन्तर लागिरहेका नेता लोककृष्ण भट्टराईलाई पार्टीले के दिन्छ र यसरी हत्ते हालेर लाग्नुभएको भनेर नितान्त निजी स्वार्थ साधनामा मात्र लिप्त भएको बताएको भट्टराईले बताएका छन् ।
आचार्य थरि स्थायी समिति सदस्यले ४३ भोटले जितेको हो भन्नु, नेपाल थरि वरिष्ठ नेताले ओली सरकाका सकारात्मक काम केही नदेख्नु र नभन्नु, भुसाल थरि स्थायी समिति सदस्यले छातीपिटी पिटी रुनु परेको, प्रधानमन्त्री वरिपरि कमिसन खोर र भ्रष्टहरुको ताँती, पाण्डे थरि स्थायी समिति सदस्यले भारतले गरेको नाकाबन्दीका विरुद्ध अडिँदा रातभर भारतसित ज्यूज्यू गर्ने अनि दिउँसो दिउँसो विरोध गर्ने भन्दै ओली लक्षित कटु आलोचना गरे ।
उनै पाण्डे थरि कामरेड प्रधानमन्त्रीका विरुद्ध सभासद्हरुलाई खाली कागजमा सही गराउँदै हिँडेको पनि थाहा भयो । अर्का रावल थरि नेताले सिके राउतलाई राष्ट्र विखण्डनकारी राजनीति परित्याग गरे गराएकामा ओलीलाई आलोचना गरेका थिए ।
बन्दुकको एक गोलीले एकजना मार्छ, तर मिडियाको एक गोलीले सयौँलाई थला पार्छ, सूर्य थापाले भनझैँ अहिले नेकपा, सरकार र ओली विरुद्ध नै फेक र पेड न्युज भाइरल भएको अवस्था छ । देश र जनताका विरुद्ध र उपलब्धि र प्राप्तिप्रति पानी खन्याउने, एक अर्कालाई उचाल्ने र पछार्ने, ओली र सरकारलाई हिलाको किलो बनाउने, स्थायी समितिमा सचिवालयमा अल्झाउने, मन्त्री मण्डल परिवर्तन गर्ने हल्ला मच्चाइ रहेर अस्थिरताको सन्देश प्रवाह गर्ने काम बारबार भइरहेको देखिन्छ ।
देशभरि घुम्दा कोही सरकारका कामदेखि खुसी छैनन् भन्ने र ओलीको राजिनामा भारतले होइन आफैँले मागेको भन्ने सरकारका केही र कत्ति पनि सकारात्मक काम नदेख्ने प्रवृत्ति पार्टीको उपल्लो तहमा रहेको देखिन्छ । गल्ती नगर्ने मान्छे होइन अझ गल्ती दोहो¥याउने त झन् मान्छे नै होइन भन्ने लेनिन अवसरवादी नेताका आदर्श होइनन् ।
तिमीसित साहस छ भने तिमीसित रहेका सबै वस्तु हतियार बन्नेछन् भन्ने माओ शिक्षाका अनुयायी ओलीसित आमने सामने भिड्न र टिक्न नसकेपछि छिर्के दाउ खेल्नेहरुले बुझून् यस्तै प्रकृतिका कृतघ्न पात्रहरुलाई आधार बनाएर पुर्खाहरुले शठे शाठ्यम् समाचरेत् वा जस्तालाई तस्तै भनेका हुन् ।
शिशुपाललाई सय बार सम्झाउँदा पार लगेन र सुदर्शन चक्र देखाए तैपनि नसच्चिए पछि कृष्णले सुदर्शन चक्र चलाउनु परेको थियो । सिद्धान्त सही भएर पनि त्यसलाई खालि पाठ गर्ने र दराजमा थन्क्याउने काम गर्नु हुँदैन भन्ने माओको शिक्षा ओलीबाट सिके हुन्छ । शत्रुहरुका नरम, कठोर छल कपटहरुका अगाडि अनेक खालका आग्रह र दुराग्रहबस निशस्त्र भएर रहने नेकपाका कतिपय नेताहरु माओले भनेझैँ प्रतिक्रान्तिकारीका मतियार हुनसक्छन् ।
एक दुई राम्रो काम होइन जीवनभरि राम्रो काम गर्नु चाहिँ राम्रो हो भन्ने माओ शिक्षा प्रचण्डलाई सम्झाइ रहनु पर्दैन होला । एउटै कक्षामा दुई पटक नपढ्ने अर्थात् पुन पार्टी अध्यक्ष र प्रधानमन्त्री नहुने ओली शिक्षा पदलोलुप नेतालाई कहिल्यै ज्ञान पलाएन । ओलीले जबज अनुसार योग्यतम नभए पनि अयोग्य मध्ये योग्य नेताको खोजी गरेको बुझिन्छ तेङसियाओ पेङले आफूपछि सक्षम नेता उत्पादन गर्ने नेता चाहिँ असल हो भनेझैँ नेकपामा ओली मात्र त्यस खालको कोटिमा पर्नु हुन्छ । अरु त आफूबाहेक अरु कसैलाई योग्य देख्दैनन् ।