कार्तिक २, काठमाडौँ । सरकारले भनेको छ, ‘जहाँ छौं त्यहीं नै चाडबाड मनाऔं ।’ तर, दसैं मनाउन घटनास्थापनाकै दिन शनिबार दिउँसो काठमाडौं उपत्यकाबाट २१ हजार यात्रु बाहिरिएका छन् । यद्यपि, यस वर्ष दसैंमा काठमाडौं उपत्यका छाड्नेको संख्यामा भने उल्लेख्य कमी आउने देखिएको छ । विगतमा दसैंको पहिलो दिन नै १ लाखभन्दा धेरै उपत्यकाबाट बाहिरिसकेका हुन्थे । बसपार्क तथा टिकट काउन्टरमा गाउँ फर्किन चाहने यात्रुको लाइन हुन्थ्यो । तर, यसपटक टिकट काउन्टर र बसपार्कमा भीडभाड छैन ।

ट्राफिक प्रवक्ता रामेश्वरप्रसाद यादवले असोजमा ६ लाख २७ हजार यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए । सोही अवधिमा ६ लाख १४ हजार जना भित्रिए । लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात असोज १ गतेदेखि सञ्चालनमा आएका थिए । त्यसयता दैनिक १७ हजारदेखि २२ हजारसम्म यात्रु उपत्यका भित्रिने र बाहिरिने गरेको प्रवक्ता यादवको भनाइ छ । अघिल्लो वर्ष सार्वजनिक यातायात र निजी सवारी साधनबाट २० लाखभन्दा धेरै दसैं मनाउन उपत्यकाबाट बाहिरिने गरेका थिए । यस वर्ष ३ लाखदेखि ४ लाखसम्म यात्रु मात्र बाहिरिने ट्राफिक प्रहरी तथा यातायात व्यवसायीको अनुमान छ ।