कात्तिक ३०, काठमाडौं । मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्वका लागि दीर्घकालीन र दिगो उपाय खोज्ने उद्देश्यले भुटानको थिम्पुमा तीनदिने अन्तरराष्ट्रिय सम्मेलन सुरु भएको छ । ‘साझा भू–दृश्यमा द्वन्द्व व्यवस्थापनबाट उत्थानशील प्रणालीतर्फ’ भन्ने मूल नारासहित आजदेखि सुरु सम्मेलन आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ ।

विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले वन क्षेत्रको विस्तार, पूर्वाधार निर्माण, भूमिको उपयोगमा परिवर्तन, जलवायु परिवर्तन तथा जनसङ्ख्याको चापलगायत कारणले मानव र वन्यजन्तुबीचको द्वन्द बढिरहेको सन्दर्भमा सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मानव–वन्यजन्तु सहअस्तित्वमा नवीनतम उपायको प्रर्वद्धन’ विषयक सम्मेलन विश्व वन्यजन्तु कोष भुटानको सह–आयोजना भएको हो ।
विशेषगरी संरक्षित क्षेत्रबाहिर मानव बस्ती तथा कृषि क्षेत्रमा वन्यजन्तुको आवागमन बढ्दा स्थानीय समुदायको जीविकोपार्जन, खाद्य सुरक्षा र सुरक्षामा चुनौती थपिएकाले सम्मेलनमा यस विषयमा छलफल हुनेछ ।
सम्मेलनमा नीति निर्माता, अनुसन्धानकर्ता, संरक्षणकर्मी, स्थानीय समुदाय, विकास साझेदार तथा विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ ।
उहाँका अनुसार सम्मेलनमा मानव–वन्यजन्तु सहअस्तित्वका क्षेत्रमा भएका अभ्यास, नवीनप्रविधि, सफल अनुभव र चुनौतीबारे छलफल हुनेछ । डा गुरुङका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा पहिलो दिन मानव–वन्यजन्तु सहअस्तित्वका पारिस्थितिक, सामाजिक, संस्थागत तथा भू–दृश्यसम्बन्धी जटिलता र चुनौतीबारे छलफल हुनेछ ।
परम्परागत द्वन्द्व व्यवस्थापनका उपाय किन पर्याप्त हुन सकेनन् भन्ने विषयमा समेत सहभागीबीच अनुभव आदानप्रदान हुनेछ ।
त्यस्तै सामुदायिक सहभागिता, वैज्ञानिक अनुसन्धान, प्रविधि, अनुकूलनशील व्यवस्थापन, दिगो वित्तीय स्रोत र भू–दृश्यस्तरको योजनामार्फत सहअस्तित्व प्रर्वद्धन गर्ने नवीनतम उपायबारे छलफल हुनेछ ।
भुटान र समग्र पूर्वी हिमाली क्षेत्रमा मानव–वन्यजन्तु सहअस्तित्वका लागि साझा कार्ययोजना, संस्थागत सहकार्य, अनुगमन प्रणाली र दीर्घकालीन वित्तीय व्यवस्थाका सम्भावनाबारे छलफल गरिनेछ । डा गुरुङका अनुसार, सम्मेलनमा हात्ती, बाघ, हिउँचितुवालगायत वन्यजन्तुलाई मानव–वन्यजन्तु द्वन्दका फरक आयाम बुझ्ने आधारका रूपमा प्रस्तुत गरिनेछ । ती वन्यजन्तुले बासस्थानको सम्पर्क, पूर्वाधारको दबाब, संरक्षणको सफलता र स्थानीय जीविकोपार्जनमा पर्ने प्रभावलाई उजागर गर्दै आएको आयोजकको भनाइ छ ।