मंसिर ९, काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले निवेदकले माग गरेबमोजिम तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो ।

डा. मनोजकुमार के.सी. नेपाल सरकारको २०८३ साल मंसिर १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्तिपत्र बुझेर कार्यभार सम्हालिसकेको अवस्था रहेको भन्दै अदालतले अन्तरिम आदेश जारी नगरेको हो । अदालतले प्रहरी संगठनको नेतृत्व देशको शान्ति सुरक्षा कायम गर्ने विषयसँग प्रत्यक्ष जोडिएको सार्वजनिक महत्वको संवेदनशील विषय भएको उल्लेख गरेको छ । रिट निवेदनमा उठाइएका कानुनी प्रश्न र निवेदकले माग गरेको न्यायिक उपचारको विषय अन्तिम सुनुवाइका क्रममा निरुपण हुने प्रकृतिको देखिएको आदेशमा उल्लेख छ ।
त्यस्तै, सुविधा सन्तुलनका दृष्टिले पनि तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको सर्वोच्चको ठहर छ । यद्यपि, अदालतले रिट निवेदनमा उठाइएका विषयको महत्व, गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै मुद्दाको शीघ्र सुनुवाइ गर्न आदेश दिएको छ । आदेशअनुसार प्रत्यर्थीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा लिखित जवाफ पेस गर्ने अवधि समाप्त भएपछि सात दिनभित्र मुद्दा पेसीमा चढाउनुपर्नेछ । साथै, पेसी नहट्ने पूर्वसूचनासहित दुवै पक्षलाई जानकारी गराएर नियमानुसार सुनुवाइका लागि पेस गर्न भनिएको छ ।
उक्त रिट निवेदनमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य, दिनमणि पोखरेल, अमर थापालगायतले बहस गरेका थिए ।
सरकारका तर्फबाट महान्यायाधिवक्ता नारायणदत्त कडेलसहित सरकारी वकिलहरूले बहस गरेका थिए । त्यस्तै, डा. मनोजकुमार के.सी.का तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट तथा अन्य अधिवक्ताहरूले र प्रहरी प्रधान कार्यालयका तर्फबाट अधिवक्ता करुणाकर मल्लिकले बहस गरेका थिए ।

