• २०८३ मङ्सिर ९ गते मङ्गलवार

पाकिस्तानसँग ९६ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ८, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपालको प्रतियोगिता यात्रा समाप्त भएको हो ।

पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा मात्र ७२ रनमा समेटियो । नेपालको ब्याटिङ निकै कमजोर रहँदा ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए । ५० बल खेलेका उनी अन्तिम विकेटका रूपमा आउट भए । बसिर अहमदले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका ६ जना ब्याटर शून्य रनमै आउट भए ।

पाकिस्तानका मोहम्मद हस्नेन र सुफ्यान मोकिमले समान ३ विकेट लिए । इमरान रान्धवाले २ तथा माज सदाकतले १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले ४२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । पाकिस्तानका रोहेल नाजिरले अविजित ६४ रन बनाए । हसन नवाजले २८, अहमद दनियालले १६ तथा हैदर अलीले १५ रनको योगदान दिए ।

नेपालका लागि रासिद खानले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा ३९ रन खर्चेर ५ विकेट लिए । यो उनको लिस्ट ‘ए’ करियरको पहिलो पाँच विकेट प्रदर्शन हो । लिस्ट ‘ए’ मा डेब्यू गरेका अभिशेष गौतमले २ विकेट लिँदा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १ विकेट लिए ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो भने दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो ।

यससँगै समूह ‘बी’ का तीनवटै खेल जितेको पाकिस्तान ‘ए’ समूह विजेता तथा भारत ‘ए’ उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल भने समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस