मंसिर ८, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबारदेखि सुरु भएको पुरुष फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

कर्णाली रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबले पहिलो हाफमै दुई गोल गरेको थियो । पुलिसका लागि धीरेन्द्र शाहले खेलको ३६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै, पहिलो हाफको अतिरिक्त समयमा (४६औँ मिनेट) सुजन मगरले दोस्रो गोल गरे ।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । त्यसपछि थप गोल हुन नसक्दा नेपाल पुलिस क्लबले २–० को जित दर्ता गरेको हो । खेलका क्रममा नेपाल पुलिस क्लबका एक र कर्णाली प्रदेशका दुई खेलाडीले पहेँलो कार्ड पाएका थिए ।
मधेश प्रदेशको विजयी सुरुवात
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार भएको पुरुष फुटबलको दोस्रो खेलमा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ । सुदूरपश्चिम प्रदेशलाई १–० गोलले पराजित गर्दै मधेशले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
खेलको पहिलो हाफमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि कुनै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफमा मधेश प्रदेशका विकास दर्लामीले खेलको ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेल ढिलो गरी सुरु भएका कारण निर्धारित समय घटाइएको थियो । मधेश र सुदूरपश्चिमबीचको खेल ३५–३५ मिनेटमा सीमित गरिएको थियो ।
पुरुष फुटबलअन्तर्गत बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेश आमनेसामने हुनेछन् ।