मंसिर ४, काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै द्विपक्षीय साझेदारीलाई नयाँ गति दिने विश्वास गरिएको बताएका छन् । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भ्रमणबाट नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने ठोस उपलब्धि हासिल गर्ने लक्ष्य राखिएको बताए ।

प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गर्दै भ्रमणका क्रममा दुई देशबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने उनले जानकारी दिए ।
प्रधानमन्त्री यही मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेको उनले बताए ।
उनका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन् ।
सरकारी भ्रमण टोलीमा ३४ सदस्य रहनेछन् । त्यसमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य थपिनेछन् । त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुने मन्त्रालयले जनाएको छ । भ्रमणको समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकारहरू पनि आफ्नै खर्चमा भारत जानेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै व्यापार, पारवहन, लगानी, ऊर्जा सहकार्य, सम्पर्क सञ्जाल र पूर्वाधार विकासका विषयमा छलफल हुनेछ ।
दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको राईले जानकारी दिए ।
त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका विभिन्न समझदारीपत्र आदानप्रदान गरिने तयारी छ । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहयोग थप विस्तार हुने अपेक्षा गरिएको छ ।
द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीले विभिन्न विषय समेटेर संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने दिवाभोजमा पनि प्रधानमन्त्री शाह सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्रीले नयाँदिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत रहेको उनले बताए ।
यसैगरी, भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरम आयोजना गरिनेछ । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा नेपाल सरकारका तर्फबाट भारतबाट थप लगानी भित्र्याउन अवलम्बन गरिएका नीतिगत दृष्टिकोण र प्रयासबारे जानकारी गराइनेछ ।
साथै, भारतीय व्यवसायीका चासो र सरोकार सुन्ने तथा नेपाली र भारतीय व्यवसायीबीच सहकार्यका सम्भावना पहिचान गर्ने उद्देश्य राखिएको छ । बिजनेस फोरमले दुई देशका निजी क्षेत्रबीच आर्थिक साझेदारी विस्तार गर्न सेतुको काम गर्ने अपेक्षा गरिएको राईले बताए ।
भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते साँझ ६ः३५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।