मंसिर ४, काठमाडौं । मधेसको प्राचीन मिथिला क्षेत्र आज उत्सवमय छ । हिन्दू परम्पराका इष्टदेव श्री विष्णु चार महिनाको निद्राबाट ब्युझेर तुलसीसँग विवाह गर्नुभएकोे विश्वासमा आज मिथिला क्षेत्र उत्सवमय भएको हो । चन्द्रमासको कात्तिक शुक्ल एकादशी तिथिका दिन श्री विष्णु चार महिनाको निद्राबाट ब्युझेर तुलसा (वनष्पति) सँग विवाह गर्नुभएको विश्वास गरिन्छ । मैथिल परम्परामा यो एकादशीलाई बोधिनी पनि भनिन्छ । शास्त्रीय परम्परामा यो एकादशीको नाउँ हरिबोधिनी र हरिप्रबोधनी पनि रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।

यस पर्वको अवसरमा भक्तिपूर्वक व्रत रही भजनकीर्तन र भगवान् श्री विष्णु र तुलसाबीच विवाह समारोह आयोजना गरेर देवोत्थान उत्सव मनाउने मैथिल परम्परा छ ।
आज यस अवसरमा यहाँ प्रायः सबै मिथिला बस्तिमा श्री विष्णु र तुलसाबीच विवाहका मङ्गल गीत गुञ्जदैछन् । श्री विष्णु र तुलसाप्रति समर्पित यो पर्वपछि मिथिलामा विवाह, यज्ञोपवित (व्रतबन्ध), गृहप्रवेश, मुण्डन र यज्ञयज्ञादिसहितका शुभकार्यको बाटो खुल्ने मानिन्छ ।
श्री विष्णु समुद्रमा सयन गर्नुभएको मानिने असार शुक्ल एकादशीपछि रोकिने यस्ता शुभकार्य देवोत्थान उत्सवसँगै खुल्ने मान्यताले यो पर्व मैथिल परम्परामा खास मानिन्छ ।
असार शुक्लपक्षको एकादशीलाई श्री विष्णु सयन गर्नुभएको विश्वासमा सो दिनलाई हरिसयनी र कात्तिक शुक्ल एकादशीका दिन जाग्ने मान्यताले यसलाई हरिवोधनी भनिएको मैथिल संस्कृतिविद् जलेश्वर–५ पतैलीका बासिन्दा ध्रुव रायको भनाइ छ ।
देवोत्थान उत्सवपछि हरिसयनी एकादशी अघिसम्म आयोजना गरिने शुभकार्यमा श्री विष्णुको कृपादृष्टि रहने मैथिल विश्वास गर्छन् ।
मिथिलामा यो पर्व निष्ठाका साथ व्रत गर्दै श्री विष्णु र तुलसाबीच विवाह उत्सव मनाएर गरिन्छ । यस दिन घरआँगनको तुलसीको मठ सिँगार्ने र विष्णु रुप मानेर शालिग्रामसँग तुलसाको विवाह भएको उत्सव मनाइन्छ ।
यो विवाह उत्सवमा मिथिलानी (मिथिलाका नारी) सुमधुर विवाह गीत गाउँछन् ।
‘बाजु सहनाई, बाजु मृदंग,
हरषित भेल मिथिलाक अंगअंग ।
तुलसीक मण्डप पूmलसँ सजल ,
हरि–तुलसीक जोडी खिलैत रहल ।
जयजय विष्णु , जयजय तुलसी रानी,
अमर रहय ई प्रेमक कहानी ।’
उक्त मधुर गीतका बीच श्री विष्णु र तुलसी विवाह सम्पन्न गर्ने मैथिल परम्परा छ । उत्सवका बीच मिथिलानी विवाहका विधि नै पिच्छे मङ्गलगीत गाइरहन्छन् ।
अघि सत्य युगमा जालन्धर नाम गरेका दैंत्यकी पत्नी वृन्दा पतिव्रता नारी थिइन् भन्ने पौराणिक कथा छ । वृन्दाको पतिव्रता पूण्यले जालन्धरको अन्त्य गर्न नसकेपछि शिवजीको सल्लाहमा श्री विष्णुले जालन्धरको रुप धारण गरी उनको धर्म नष्ट गर्नुभएको वर्णन छ ।
वृन्दाको पतिव्रता धर्म नष्ट भएपछि जालन्धरको संहार हुन्छ । पछि यो कुरा थाहा पाएपछि वृन्दाले श्री विष्णुलाई ढुङ्गा बन्ने श्राप दिनुभएको कथा छ ।
वृन्दाको श्रापले श्री विष्णु शालिग्राम पत्थर बन्नु भएको र विष्णुले वृन्दालाई झार हुने र आपूmले विवाह गर्ने बताएपछि वृन्दा तुलसी रुपमा अवतरित भएकी विश्वास गरिन्छ ।
दुवैको श्रापले श्री विष्णु शालिग्राम र वृन्दा तुलसा बनेका र कात्तिक शुक्ल एकादशीका दिन दुवैको विवाह भएको विश्वासमा यो परम्परा मनाउँदै आएको बताइन्छ ।
तुलसा औषधीय गुणयुक्त वनष्पति भएको हुँदा हिन्दू समाजमा घरघरै मठ बनाएर देवीका रुपमा पूजाअर्चनाको परम्परा चलेको हो ।
देवोत्थान एकादशी व्रत प्रभावले विष्णुलोक प्राप्त हुने मैथिल हिन्दू जनविश्वास छ । यस दिन बिहानै सूर्योदयपूर्व धार्मिक महत्वका जलाशयमा नुहाएर व्रत सङ्कल्प गरिन्छ ।
यो व्रत कसैले निराहार र कसैले फलाहार गरेर मनाउँछन् । पर्वका दिन तुलसी मठ, तलाउको डिल र गाउँबस्तीका धार्मिक महत्वका मठमन्दिरमा साँझ दीपोत्सव मनाइन्छ ।
पर्वको मुख्य आकर्षण भने तुलसी शालिग्राम विवाह नै रहने मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्र दास वैष्णव बताउनुहुन्छ । भगवान् विष्णु जागा हुने र यसै दिन तुलसीसँग विवाह हुने दिनलाई मिथिलानीले गीतमा यसरी जोड्छन् ।
‘देव उठल कात्तिकमें , शुभ कार्य स‘ब होइ,
तुलसी विवाहक नेपथ्यसँ मंंंगल बजन गुँजी सोइ ।’
पर्वमा राती जाग्राम बसेर हरि कीर्तन गर्दै भोलिपल्ट द्वादशी तिथिमा यो व्रत साङ्गता गरिने मैथिल प्रचलन छ ।
वर्षका सबै एकादशी व्रत गर्न नसकेका हरुले पनि देवोत्थान र हरिशयनी एकादशी व्रत गरे सबै व्रत गरेको पूण्य प्राप्त हुने एकादशी महात्म्यमा उल्लेख रहेको डा. वैष्णवको भनाइ छ ।