• २०८३ मङ्सिर ५ गते शुक्रवार

चित्रसारीमा एकादशी मेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट
मंसिर ४, काठमाडौं ।  चितवनको चित्रसारीमा बिहीबारदेखि तीन दिनसम्म मेला सुरु भएको छ । थारू महिलाहरूले  झाम्टा नाच प्रदर्शन गर्दै चित्रसेन बाबाको आह्वान गरी मेला सुरु भएको हो ।  पूर्वी चितवनको रत्ननगर नगरपालिका–८ स्थित यहाँहरिबोधनी एकादशीका अवसरमा उक्त मेला तीन दिनसम्म सञ्चालन हुन्छ । चित्रसेन बाबा मन्दिर संरक्षण समितिको अगुवाइमा आयोजना गरिएको मेलाको सुरुआत थारू महिलाहरूको झाम्टा नाचमार्फत चित्रसेन बाबाको आह्वान गरेर गरिएको समितिका अध्यक्ष आसाराम महतोले बताउनुभयो ।
झाम्टा नाचपछि चित्रसेन बाबाको आह्वान हुने र एकादशी मेला विधिवत् सुरु हुने उहाँले बताउनुभयो । बिहीबार साँझदेखि रातभर दियो बालेर पूजा आराधना गर्ने प्रचलन रहेको र यसबाट मनोकामना पूरा हुने विश्वास रहेको उहाँको भनाइ छ ।
चित्रसेन बाबालाई थारू राजा तथा भगवान् विष्णुको अवतारका रूपमा पुज्ने धार्मिक मान्यता छ । थारू समुदायले प्राचीनकालदेखि देवताका रूपमा श्रद्धापूर्वक पूजाआजा गर्दै आएका चित्रसेन बाबा पछिल्लो समय सबै समुदायको आस्थाको केन्द्र बन्नुभएको छ । मौखिक इतिहासमा चित्रसेन बाबाको नामबाट चितवन जिल्लाको नामकरण भएको जनविश्वाससमेत छ ।
हरेक वर्ष कार्तिक शुक्ल हरिबोधनी एकादशीका दिन चित्रसेन बाबाको थान परिसरमा मेला लाग्ने गर्दछ । एकादशीको अघिल्लो साँझदेखि भोलिपल्ट साँझसम्म दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।  यहाँ टाढाटाढाबाट भक्तजन पूजा तथा दर्शनका लागि आउने गर्दछन् ।
बुढी राप्ती नदीमा स्नान गरी चित्रसेन बाबाको थानमा पूजा गर्ने चलन  छ । यहाँ गुरौ थारू पुजारीबाट पूजा हुने मन्दिर र ब्रह्मस्थानसमेत रहेको छ । मन्दिर संरक्षण समितिका सचिव नरिश्वर पुरीले चित्रसेन बाबाको पूजा थारू संस्कृतिसँग जोडिएको भए पनि सबै समुदायका लागि उत्तिकै महत्त्पूर्ण रहेको बताउनुभयो ।
विसं २०५९ देखि समितिमार्फत मेला सञ्चालन गर्न थालिएको उल्लेख गर्दै प्रशासनसँग अनुमति लिएर भड्काउ गतिविधि नगरी मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले मेला आयोजना हुँदै आएको उहाँले बताउनुभयो ।
रत्ननगर नगरपालिका–८ का वडाध्यक्ष तथा मेला व्यवस्थापन समितिका संयोजक कृष्ण चौधरीले चित्रसेन मन्दिरमा लाग्ने एकादशी मेला महत्त्वपूर्ण रहेको बताउनुभयो । पहिले थारू समुदायको मन्दिरका रूपमा रहेको चित्रसेन बाबा मन्दिर अहिले सबै समुदायको साझा आस्थाको स्थल बनेको उहाँले बताउनुभयो ।
मन्दिरमा सोमबार आरती हुने गरेको र थारू पुजारीबाट दैनिक पूजा आराधना हुँदै आएको छ । एकादशी मेलासँग जोडिएर आउने राउन्ड बत्ती र रिङ हान्ने खेलको आकर्षणका कारण पनि मेलामा भक्तजन आउने गरेका छन् । विगतका वर्षमा राउन्ड बत्ती र रिङ हान्ने खेल सञ्चालन हुँदै आएकोमा यस वर्ष प्रशासनले सीमितता तोकेका कारण १३ राउन्ड बत्ती र पाँच रिङ हान्ने खेल मात्र सञ्चालन गरिने उहाँले बताउनुभयो ।
मन्दिर परिसरको बाटोमा भीडभाड नहोस् भनेर यसपटक परिसरभित्रै मेला सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । हरिबोधनी एकादशीका दिन व्रत बसेर चित्रसेन बाबाको दर्शन तथा पूजाआजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
व्रत बसेका तथा दर्शन गर्न आएका भक्तजनले मेलामा पाइने फलफूल, उखु, सखरखण्डलगायत सामग्री किनेर घर लैजाने चलन छ । चित्रसेन बाबा मन्दिरमा करिब १२–१३ वर्षदेखि पुजारीका रूपमा सेवा गर्दै आउनुभएका भरत महतोका अनुसार यस स्थानलाई गाउँको ब्रह्मथानका रूपमा मान्ने गरिन्छ । यहाँ दर्शन तथा पूजाआजा गर्न टाढाटाढाबाट भक्तजन आउने र दर्शनका लागि दिनभर लामो लाइन लाग्ने गरेको छ ।
चित्रसेन बाबाप्रति भक्तजनको गहिरो विश्वास रहेको उल्लेख गर्दै उहाँले यहाँ भाकल गर्दा निःसन्तानले सन्तान प्राप्त गरेको, दुःख हटेको तथा हराएका मानिस भेटिएकोजस्ता अनुभव भक्तजनले सुनाउने गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस