मंसिर २, काठमाडौँ । द सोल्टी होटल व्यवस्थापनले कर्मचारी सरुवा गर्ने सम्बन्धमा जारी गरेको सूचना कार्यान्वयनमा ल्याएपछि होटलका तीनवटै श्रमिक युनियनहरू कडा आन्दोलनमा उत्रिएका छन् । व्यवस्थापनले एकतर्फी रूपमा गरेको सरुवाको निर्णय तत्काल फिर्ता लिन माग गर्दै उनीहरूले कानुनी र संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

होटल व्यवस्थापनले गत असोज एक गते सूचना जारी गर्दै प्रिन्सेप विङ भवनको स्तरोन्नति तथा पुनर्निर्माणका कारण विभिन्न विभागमा कार्यरत कर्मचारीहरूलाई अन्तर–विभाग सरुवा गर्ने निर्णय गरेको थियो । पुनर्निर्माण सम्पन्न नभएसम्मका लागि गरिएको यो सरुवा प्रक्रिया असोज छ गतेदेखि लागू हुने भनिएको थियो । उक्त निर्णय सुरुमा केही समय स्थगित गरिए पनि पछि पुनः कार्यान्वयनतर्फ अगाडि बढेपछि श्रमिकहरू आन्दोलित भएका हुन् ।
श्रमिक युनियनहरूको प्रमुख आपत्ति र माग
व्यवस्थापनको एकतर्फी सरुवा निर्णय सामान्य श्रम व्यवहार, मानव अधिकार र सम्मानजनक श्रमको अवधारणाविपरीत रहेको युनियनहरूको ठहर छ ।
होटलले करोडौं नाफा कमाए पनि लामो समयदेखि पसिना बगाउने श्रमिकहरूको योगदानमाथि खेलवाड गरिएको उनीहरूको आरोप छ । समस्या समाधानका लागि पटक–पटक वार्ता र छलफल भए पनि व्यवस्थापनले चासो नदेखाएको श्रमिकहरूको गुनासो छ ।
पुनर्निर्माणका कारण होटलको प्रिन्सेप विङतर्फका अतिथि कोठा र गार्डेन टेरेसको सेवा बन्द हुँदा हाउसकिपिङ, इन्जिनियरिङ, फुड एन्ड बेभरेज, रुम सर्भिस र फ्रन्ट अफिस लगायतका विभाग प्रत्यक्ष प्रभावित भएका छन् । क्षमता घटेको नाममा श्रमिकलाई पेल्ने काम गरिएमा व्यवस्थापनले नसोचेको मूल्य चुकाउनुपर्ने कडा चेतावनी युनियनहरूले दिएका छन् ।
द सोल्टी होटलका श्रमिकहरूको यो आन्दोलनलाई राष्ट्रियस्तरका ट्रेड युनियन महासंघहरूले समेत बलियो साथ दिएका छन् । होटल व्यवस्थापनले श्रमिकमाथि दमन वा हेप्ने प्रवृत्ति जारी राखेमा राष्ट्रियस्तरबाटै सशक्त ‘एक्सन’ लिइने एक ट्रेड युनियन महासंघका प्रमुखले बताएका छन् ।
यस आन्दोलनमा अखिल नेपाल होटेल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघ (आधिकारिक युनियन), नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघ (द सोल्टी), र नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुरेण्ट मजदुर युनियन (द सोल्टी) का प्रतिनिधिहरू सक्रिय रूपमा सहभागी छन् । उनीहरूलाई बाह्य राष्ट्रिय युनियनहरूको समेत पूर्ण समर्थन रहेको छ ।
श्रमिकहरूलाई शान्त, सहज र तनावमुक्त वातावरणमा काम गर्ने अवस्था तत्काल सिर्जना गर्न माग गर्दै, आन्दोलनबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी होटल व्यवस्थापनले नै लिनुपर्ने युनियनहरूको चेतावनी छ ।