• २०८३ मङ्सिर ३ गते बुधवार

आप्रवासी श्रमिकहरुका लागि मानक रोजगार सम्झौता अनिवार्य हुनुपर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

मंसिर २, काठमाडौँ ।  ट्रेड युनियन अधिकारकर्मीहरुले हरेक श्रमिकसँग मानक रोजगार सम्झौता हुनुपर्ने बताएका छन् । उनीहरुले जबसम्म श्रमिकसँग मानक रोजगार सम्झौता हुँदैन, तबसम्म सामाजिक तथा कानुनी न्याय प्राप्त गर्न र न्यायमा पहुँच स्थापित गर्न आवश्यक बलियो प्रमाण हुन नसक्ने औंल्याएका हुन् । वुधबार आईटियुसी एसिया प्रशान्त र सार्क टे्रड युनियन काउन्सिलले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सार्क टुकका महासचिव एवं ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष तथा श्रमिक नेता लक्ष्मणबहादुर बस्नेतले श्रमिकहरुका अझै धेरै मुद्दाहरु स्थापित गर्न आवश्यक रहेको बताए ।

उनले श्रमिकहरुका क्षेत्रमा देखिएका पछिल्ला मुद्दाहरुमा विश्वव्यापी ट्रेड युनियनहरू, अन्तर्राष्ट्रिय रोजगारदाता संगठन र सरकारको सहयोगमा त्रिपक्षीय सम्झौता गर्नुपर्ने पनि औंल्याए । त्यस्तै, आइटीयूसी एसिया प्रशान्त निर्देशक डा.फहिमउद्दिन पाशाले आप्रवासी कामदारहरू केवल श्रमको स्रोत मात्र नभइ तिनीहरू मौलिक अधिकार भएका कामदार भएको औंल्याउँदै सीमापार ट्रेड युनियन कर्पोरेसनका लागि ठोस, व्यावहारिक कार्यहरू परिभाषित गर्नुपर्ने बताए ।

कार्यक्रममा अधिकारकर्मीहरुले आईएलओको सहयोगमा मानक रोजगार सम्झौता तयार गरेपनि लागू नभएको गुनासो गरे । त्यस्तै नेपालमा सामाजिक सुरक्षा लागू गर्न पनि २२ बर्ष समय लागेको बताए ।

त्यस्तै, न्यायमा पहुँच, श्रमिकले समयमै पारिश्रमिक तथा अन्य बाँकी रकम पाउनुपर्ने व्यवस्था र सेवा अवधिको अन्त्यमा पाउनुपर्ने सुविधाहरू पनि पाउन मुस्किल पर्ने गरेको उनीहरुको भनाइ छ ।

कार्यक्रममा आप्रवासन श्रमका लागि एसिया–प्रशान्त क्षेत्रका श्रम बजारहरूको एक प्रमुख विशेषता भएको औंल्याउँदै आप्रवासन श्रमले कामदारहरू, परिवारहरू र उत्पत्ति तथा गन्तव्य दुवैको अर्थतन्त्रलाई महत्त्वपूर्ण लाभ पुर्याउने बताए ।

तर आप्रवासी कामदारहरूले उच्च भर्ना शुल्क, छलकपटपूर्ण भर्ना अभ्यास, सम्झौता फेरबदल, ज्याला चोरी, सीमित सामाजिक सुरक्षा र प्रभावकारी उपचार प्राप्त गर्न कठिनाइ भएको पनि अधिकारकर्मीहरुको भनाइ छ ।

जसमा न्यून पारिश्रमिक पाउने कामदारहरू, आप्रवासी महिला कामदारहरू, घरेलु तथा हेरचाह गर्ने र कागजातविहीन कामदारहरूका लागि विशेष जोखिमहरू रहेको पनि कार्यक्रममा औंल्याइयो ।

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आप्रवासन भर्ना, श्रम शोषण, सामाजिक सुरक्षा र उपचारमा पहुँचका चुनौतीहरूको मूल्याङ्कन आवश्यक रहेको बताउँदै आप्रवासी कामदारहरूको संगठन, कानुनी सहायता, आप्रवासी स्रोत र सीमापार सहयोगमा ट्रेड युनियनका अनुभवहरू र असल अभ्यासहरूको आदानप्रदान गर्नुपर्ने बताए ।

उनले टे्रड युनियन कांगे्रसले सबै आप्रवासी श्रमिकहरुले नेपालका हरेक निर्वाचनमा कार्यथलोबाट मतदान अधिकार पाउनुपर्छ भनेर आवाज उठाउँदै आइरहेको जानकारी दिए । साथै दुई दिने कार्यक्रममा सबै आप्रवासी श्रमिकहरुलाई गन्तब्य मुलुकहरुले पनि आफनो देशमा सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

उद्घाटन सत्रमा आइएलओ नयाँदिल्ली कार्यालयकी एक्ट्राभकी प्रमुख सिस्टर युकि ओटसुजी, आईटीयूसी–एपीका महासचिव ब्रो शोया योशिदाले पनि अनलाइनमार्फत आफ्नो मन्तव्य राखेका थिए ।

आप्रवासी श्रमिकहरुको दुई दिने एशिया प्रशान्त क्षेत्रीय उक्त दुई दिने कार्यक्रममा आप्रवासी क्षेत्रमा कार्यरत नेपालका गैरसरकारी संस्थाका अभियानकर्ताहरु, आईटियुसी एशिया प्रशान्त क्षेत्रका प्रतिनिधिहरु, आइएलओ नेपालका प्रतिनिधिहरुको सहभागिता छ ।

Sharing

प्रतिक्रिया दिनुहोस