जीवन के हो ? किन मानिस जन्मिन्छ, किन सपना देख्छ, किन हाँस्छ, किन रुन्छ र अन्ततः एक दिन सबै कुरा छोडेर जान्छ किन ? कहिलेकाहीँ यी प्रश्नले मनभित्र यस्तो आँधी ल्याउँछन्, जसको उत्तर आफैँसँग पनि हुँदैन । साँच्चै, बुझ्न खोज्दाखोज्दै पनि बुझ्न नसकेको एउटा रहस्य रहेछ जिन्दगी । रहस्यको घैलो भरिदैन जिन्दगीको । ।जीवन एउटा खहरे खोला हो । कहिले भेल बनेर उर्लिन्छ, कहिले शान्तसँग आफ्नै गतिमा बग्न खोज्छ । कहिले ढुंगामा ठोक्किन्छ, कहिले किनार भत्काउँछ त कहिले बाटो बिराएर नयाँ दिशा समात्छ । मानिसको जीवन पनि त्यस्तै रहेछ । कहिले खुसीको भेल आउँछ, कहिले दुःखको बाढीले सबै सपना बगाएर लैजान्छ । कहीँ घाम, कहीँ छाया, कहीँ घामपानी ! यस्तै रहेछ जिन्दगानी ।

जीवनको यात्रामा कोही मित्र बनेर आउँछन्, कोही शत्रु बनेर । कोही दुःखमा हात समाउन आउँछन्, कोही खुसीको समयमा पनि आँसुको कारण बनिदिन्छन् । कसैले विश्वास दिएर जीवनभर सम्झनलायक बनाउँछन् भने कसैले विश्वास तोडेर जीवनकै ठूलो पाठ सिकाउँछन् । अचम्म त के छ भने, कहिलेकाहीँ आफ्नै ठानेका मानिस पराइ बन्छन् र पराइ ठानेका मानिस आफ्नाभन्दा प्रिय बनिदिन्छन् ।
मानिसले जीवनभर केही न केही खोजिरहन्छ । बाल्यकालमा ठूलो हुने रहर, युवावस्थामा धन र सफलता कमाउने सपना, प्रौढ अवस्थामा परिवारको सुख र बुढेसकालमा शान्तिको खोजी । तर चाहनाहरू कहिल्यै सकिँदैनन् । एउटा सपना पूरा नहुँदै अर्को सपना जन्मिन्छ । धन कमाउँदा समय गुम्छ, समय जोगाउँदा अवसर छुट्छ । परिवारका लागि दौडिँदा आफ्नै रहरहरू कतै पछाडि छुटिसकेका हुन्छन् । अन्त्यमा फर्केर हेर्दा लाग्छ—जिन्दगी त बितिसकेछ, तर आफूले आफूलाई नै बुझ्न भ्याइएन ।
जीवन के हो त ? के जीवन केवल जन्मनु, हुर्कनु, कमाउनु, घर बनाउनु, सन्तान जन्माउनु र एक दिन मर्नु मात्रै हो ? पक्कै होइन । जीवन त कसैको अनुहारमा मुस्कान ल्याउनु पनि हो । भोकालाई एक छाक खाना दिनु, दुःखीको आँसु पुछिदिनु, असहायलाई सहारा दिनु र अप्ठ्यारोमा परेको मानिसलाई हात दिनु नै जीवनको वास्तविक अर्थ हो । परोपकार किन गर्ने ? किनकि हामीले कमाएको धन, बनाएको घर र जोडेको सम्पत्ति यहीँ रहन्छ, तर कसैको दुःखमा दिएको साथ र गरेको सत्कर्म मानिसको स्मृतिमा लामो समयसम्म जीवित रहन्छ ।
आखिर आत्मा के हो ? शरीर त माटोबाट बनेको एउटा अस्थायी घर हो । एक दिन यो घर जीर्ण हुन्छ, श्वास रोकिन्छ र शरीर माटोमै विलीन हुन्छ । तर मानिसले छोडेर जाने असल कर्म, विचार, माया र सम्झनाहरू अरूका मनमा बाँचिरहन्छन् । सायद आत्माको सुन्दरता पनि यही हो—आफू नरहे पनि आफ्नो सत्कर्मले अरूको जीवनमा उज्यालो छोड्नु ।
त्यसैले जिन्दगीलाई धेरै जटिल बनाएर होइन, सकेसम्म सरल बनाएर बाँच्नुपर्छ । कसैको मन दुखाएर होइन, मन जितेर बाँच्नुपर्छ । घमण्ड गरेर होइन, नम्र भएर बाँच्नुपर्छ । किनकि हामीले आज जसलाई कमजोर ठानेर हेपिरहेका छौँ, भोलि समयले हामीलाई पनि त्यही मोडमा पुर्याउन सक्छ । समयभन्दा ठूलो शिक्षक कोही छैन र अनुभवभन्दा ठूलो पाठशाला पनि छैन ।
अन्ततः जीवनको सबैभन्दा ठूलो सत्य मृत्यु हो र सबैभन्दा सुन्दर उपलब्धि मानवता । हामी कति वर्ष बाँचेका छौँ भन्नेभन्दा पनि कसका लागि कति राम्रो काम गरेर बाँचेका छौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ । कहिलेकाहीँ एकान्तमा बसेर आफ्नै मनलाई सोध्छु, ” यो जीवन आखिर कसका लागि दौडिरहेको छ ? किन यति धेरै चिन्ता, किन यति धेरै मोह, किन यति धेरै अहंकार ? “उत्तर भेटिँदैन । फेरि लाग्छ, सायद जिन्दगी बुझ्नका लागि होइन, महसुस गर्नका लागि हो । यसलाई जित्नका लागि होइन, प्रेमपूर्वक जिउनका लागि हो ।
जिन्दगी साँच्चै अनौठो रहेछ । आउने बाटो थाहा हुँदैन, जाने समय थाहा हुँदैन । बीचको यात्रामा को आफ्नो, को पराई, को खुसी, को दुःखी—केही निश्चित हुँदैन । अन्ततः दुई मुठी सास र मुट्ठीभर सम्झना बोकेर आएको मानिस एक दिन रित्तै फर्कन्छ । त्यसैले घृणा होइन, माया बाँडौँ । स्वार्थ होइन, परोपकार गरौँ । किनकि जिन्दगी छोटो छ, तर कसैको मनमा राम्रो मान्छे बनेर बाँच्न पाउनु नै जीवनको सबैभन्दा ठूलो सफलता हो ।
(यो लेख प्राय: मानिसको वास्तविक जीवन कथासंग समेटिएको छ, कसैसग मेल खाएमा संयोग मात्र हुनेछ ।” )