कात्तिक २८, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्व मनाउन शनिबार पर्सा जाने भएका छन् ।सभामुख अर्यालले वीरगञ्जस्थित घडिअर्वा पोखरीलगायत विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ । यस क्रममा उनले मकवानपुर, बारा र पर्साका सर्वसाधारण नागरिकसँग भेटघाट तथा अन्तरक्रियासमेत गर्नेछन् ।

सभामुख अर्याल गत वर्ष पनि छठ पर्वका अवसरमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रोहिणी र ओमसतिया गाउँपालिकाका विभिन्न छठघाट पुगेका थिए । त्यस अवसरमा उनले छठी मइयाको पूजा–आराधना गर्दै अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । साथै, श्रद्धालु भक्तजन तथा स्थानीय नागरिकसँग पर्वको खुसी साटासाट गरेका थिए ।

छठ पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक परम्परालाई थप सुदृढ बनाउँदै आएको छ ।