• २०८३ कार्तिक २४ गते सोमवार

रुकुम पश्चिममा जीप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते, ६ जनाको अवस्था गम्भीर

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २३, रुकुम पश्चिम। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। आइतबार दिउँसो १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा आठबिसकोट नगरपालिका–५ निवासी १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १३ जनामध्ये ६ जनाको अवस्था गम्भीर, दुई जनाको मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको छ।

गम्भीर घाइते हुनेहरूमा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, ८ वर्षीय युवराज थापा र ४ वर्षीया विरता थापा रहेका छन्। त्यस्तै, मध्यम अवस्थाका घाइतेमा २५ वर्षीया हिरा थापा र २ वर्षीय गौरव थापा छन्। सामान्य घाइते हुनेमा सुशिला थापा एरी, भावना थापा एरी, खिममाया थापा, रमिता एरी र निर्मला एरी रहेका छन्।

घाइतेमध्ये सामान्य तथा मध्यम अवस्थाका ६ जनालाई दिउँसो १ः२० बजे उपचारका लागि नगर अस्पताल राडी पठाइएको छ। अन्य घाइतेलाई समेत उपचारका लागि पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी चौकी गोतामकोट र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। जीप चालक आठबिसकोट नगरपालिका–४ निवासी २५ वर्षीय प्रदीप विक दुर्घटनापछि फरार रहेकाले उनको खोजी भइरहेको छ। दुर्घटनाग्रस्त जीप घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस