कात्तिक २३, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा पहिलो शतक प्रहार गर्ने खेलाडी पोखरा एभेन्जर्सका युवराज साम्रा बनेका छन्। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्धको खेलमा साम्राले विस्फोटक ब्याटिङ गर्दै ४५ बलमा शतक पूरा गरेका हुन्।

क्यानडाका ओपनर साम्राले ४८ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाए। उनको स्ट्राइक रेट २१२.५० रह्यो। साम्राले यसअघि २३ बलमा अर्धशतक पूरा गरेका थिए। उनले कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि १३६ रनको उत्कृष्ट साझेदारी गर्दै पोखराको इनिङ्सलाई बलियो बनाए।
उनको शतकीय इनिङ्सको मद्दतमा पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाउँदै कर्णाली याक्ससामु २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
साम्राको यो शतक एनपीएल इतिहासकै चौथो शतकसमेत हो।