कात्तिक २३, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान करिब १०ः५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ तथा विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको हो।
घटनापछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।