कात्तिक १३, विराटनगर । कोशी प्रदेशमा नेपाली भाषासँगै थप १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको छ। प्रदेश सरकारले उक्त दिनलाई ‘प्रदेश भाषा दिवस’का रूपमा मनाउने र सरकारी कार्यालयमा दीपावली गर्ने निर्णय गरेको छ। १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीको अवसर पारेर सरकारी कामकाजको भाषा ऐन, २०८३ कार्यान्वयनमा ल्याउन लागिएको हो।

शुक्रबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले कात्तिक २५ गतेदेखि ऐन लागू गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए। उनका अनुसार प्रत्येक वर्ष उक्त दिन प्रदेश भाषा दिवस मनाइनेछ।
भाषा दिवसका अवसरमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायका कार्यालयमा दीपावली गरिने निर्णयसमेत बैठकले गरेको छ। प्रदेश सरकारले राजनीतिक दल, गैरसरकारी संघसंस्था र नागरिक समाजलाई पनि दीपावली गरी दिवस मनाउन आह्वान गरेको छ।
कोशी प्रदेशसभाले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक, २०८३ असोज २४ गते सर्वसम्मत रूपमा पारित गरेको थियो। प्रदेश प्रमुख परशुराम खापुङले प्रमाणीकरण गरेपछि विधेयकले कानुनी रूप लिएको हो।
ऐनले नेपाली भाषाका अतिरिक्त मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था गरेको छ। यससँगै प्रदेशका विभिन्न भाषिक समुदायले आफ्ना भाषा सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी आधार पाउनेछन्।
भाषा, संस्कृति र समुदायबीच समान सम्मानको भावना विकास गर्दै सामाजिक एकता सुदृढ गर्न ऐनले सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा छ।