• २०८३ कार्तिक १२ गते बुधवार

सहरमा गुम्सिएका रहरहरू !

खिमराज गिरी पढ्न लाग्ने समय : ७ मिनेट

“सपना खोज्दै सहर पसेका मान्छेका कथा, व्यथा र आँसु ”
कसैबाट देखिएका र भोगिएका जीवनचर्याबाट साभार गरिएको हो तर कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।

ठूलो सपना बोकेर मान्छे सहर पस्छ । आँखाभरि उज्यालो भविष्य, मनभरि रहरका फूल र काँधमा जिम्मेवारीको भारी बोकेर ऊ गाउँबाट बिदा हुन्छ । आमाको आँखामा आशा, बाबुको अनुहारमा विश्वास, श्रीमतीको मनमा सुखको कल्पना र छोराछोरीको आँखामा सुन्दर भविष्यको चित्र कोरेर ऊ सहरको बाटो लाग्छ । उसलाई लाग्छ—सहरमा पुगेपछि दुःखका दिन सकिन्छन्, अभावका रातहरू हराउँछन् र जीवनले नयाँ बिहानी पाउँछ । तर समय बित्दै जाँदा उसले थाहा पाउँछ, सहर त सपना पूरा गर्ने ठाउँ मात्र होइन रहेछ, सपना बोकेर आएका मान्छेका रहरहरू घाँटीमै अड्काउने ठाउँ पनि रहेछ सहर ।

गाउँमा गरिबी र अभाव भनिएता पनि आत्मीयता छ । खेतबारीमा पसिना बगाए पनि अन्नको उब्जनीले आफ्नोपनको स्वाद थाह हुन्छ । घरको आँगनमा तुलसी थियो, डिलमा फूल फुल्थे, बारीमा सागसब्जी हुन्थे । गाईभैँसीको गोठ थियो, धाराको पानी थियो, माटोको सुगन्ध थियो । छिमेकीको घरमा चुलो नबले आफ्नो घरको भात बाँडेर खाने चलन थियो । दुःख पर्दा गाउँ नै परिवार बन्थ्यो । कसैको घरमा विवाह हुँदा सबैको उत्सव हुन्थ्यो, कसैको घरमा मृत्यु हुँदा गाउँ नै शोकमा डुब्थ्यो । त्यहाँ धन कम थियो होला र हुनसक्छ तर मन ठूलो थियो ।

अचम्म लाग्छ, एउटै घरको भित्तापारि अर्को परिवार बस्छ, तर एकअर्काको नामसमेत थाहा हुँदैन न त पहिचानको गन्ध नै । वर्षौंसम्म सँगै बस्दा पनि छिमेकी बिरामी पर्दा कसैलाई खबर हुँदैन । एउटै भर्‍याङ उक्लिने मान्छेहरूबीच न आत्मीयता हुन्छ, न दुःखसुख साट्ने सम्बन्ध नै ।

आज त्यही मान्छे सहरको साँघुरो कोठामा जीवन खोजिरहेको छ । गाउँको खुला आकाश छाडेर ऊ चार भित्ताभित्र थुनिएको छ । बिहान उठ्दा न चराचुरुङ्गीको चिरबिर सुनिन्छ, न खेतबारीमा चलेको हावाको सुस्केरा । झ्याल खोल्दा स्वच्छ हावा होइन, धुलो र धुवाँको मुस्लो भित्र पस्छ । सडकमा गाडीको कोलाहल छ, गल्लीमा फोहोरको दुर्गन्ध छ, घरहरू अग्ला छन् तर मान्छेका मनहरू साँघुरा हुँदै गएका छन् सहरमा ।

अचम्म लाग्छ, एउटै घरको भित्तापारि अर्को परिवार बस्छ, तर एकअर्काको नामसमेत थाहा हुँदैन न त पहिचानको गन्ध नै । वर्षौंसम्म सँगै बस्दा पनि छिमेकी बिरामी पर्दा कसैलाई खबर हुँदैन । एउटै भर्‍याङ उक्लिने मान्छेहरूबीच न आत्मीयता हुन्छ, न दुःखसुख साट्ने सम्बन्ध नै । गाउँमा अपरिचित मान्छे पनि आफ्नै लाग्थ्यो, सहरमा कहिलेकाहीँ आफ्नै मान्छे पनि पराइ लाग्छ । यहाँ घरहरू नजिक छन्, तर मनहरू टाढा छन् । मान्छेहरूको भीड छ, तर एक्लोपनको साम्राज्य छ ।

ग्यांसमा लाइन, अस्पत्तालमा लाइन, सवारी साधनमा तेल राख्न लाइन । अरु त के राज्यलाइ कर तिर्न जान्छु भन्यो त्यहा पनि लाइन अनि सिस्टम ब्रेकडाउन । गाउँमा आफ्नै बारीको साग टिपेर खाने मान्छे सहरमा एक मुठा सागको मूल्य सोध्दै पसलबाट फर्किनुपर्ने अवस्थामा पुग्छ । गाउँमा गाईको दूध, बारीको तरकारी र ढिँडो–गुन्द्रुक खाएर हुर्किएको मान्छे यहाँ मिसावटको डर र महँगीको मारबीच बाँचिरहेको छ । डेरामा बस्ने र घरवालाको आ-आफ्नै पीडा छ सहरमा ।

सहरमा अर्गानिक खानाको कुरा सुनिन्छ, तर सामान्य मान्छेको भान्सामा महँगीको आगो बलिरहेको हुन्छ । अझै पनि ग्यासको सिकिन्डर पाएमा भाग्य सम्झन बाध्य छौं हामी । ग्यांसमा लाइन, अस्पत्तालमा लाइन, सवारी साधनमा तेल राख्न लाइन । अरु त के राज्यलाइ कर तिर्न जान्छु भन्यो त्यहा पनि लाइन अनि सिस्टम ब्रेकडाउन । गाउँमा आफ्नै बारीको साग टिपेर खाने मान्छे सहरमा एक मुठा सागको मूल्य सोध्दै पसलबाट फर्किनुपर्ने अवस्थामा पुग्छ । गाउँमा गाईको दूध, बारीको तरकारी र ढिँडो–गुन्द्रुक खाएर हुर्किएको मान्छे यहाँ मिसावटको डर र महँगीको मारबीच बाँचिरहेको छ । डेरामा बस्ने र घरवालाको आ-आफ्नै पीडा छ सहरमा । चामल किन्ने कि ग्यास भर्ने ? छोराको विद्यालयको शुल्क तिर्ने कि घरभाडा बुझाउने ? बिरामी आमालाई औषधि पठाउने कि आफ्नै पेट भर्ने ? केही मानिसका दिनहरू यस्तै प्रश्नको भारीले थिचिएका छन् ।

ग्याँसको लाइनमा घण्टौँ उभिएर पनि चुलो बल्ने निश्चित हुँदैन । खल्तीमा पैसा नभए भान्साको आगो मात्र निभ्दैन, घरभित्रको हाँसो पनि निभ्छ । चाउचाउ र बिस्कुटले पेट भर्नुपर्ने बाध्यता हुन्छ । कहिलेकाहीँ भोकभन्दा ठूलो पीडा भोक लुकाउनु हुन्छ । आफूले खाना खाएको अभिनय गर्दै छोराछोरीको थालमा अन्तिम गाँस थपिदिने आमा-बाबुको मन कसले पढ्छ र बुझ्छ ? श्रीमतीले आफूलाई भोक छैन भन्दै पानी पिएर रात काटेको पीडा कसले बुझ्छ र ? सहरका चिल्ला सडकमा हिँड्ने ती साधारण मान्छेका पैतालामा लुकेका फोका कसले देख्छ ? यता गरिब झन गरिब र उता धनी झन धनी हुँदै गएको हाम्रो जस्तो देशमा यी दुई बर्गबिचको भिन्नता निकै फरक छ ।

सहरले उसलाई कमाउन सिकायो, तर सायद बाँच्न बिर्सायो । दौडन सिकायो, तर कहाँ पुग्ने हो भन्ने निश्चितता दिएन । सपना देखायो, तर ती सपना पूरा गर्ने समय र सन्तोष खोसिदियो ।

महँगीले ढाड भाँचिएको छ । घरभाडाले कमाइ निल्छ, यातायातले बाँकी पैसा खाइदिन्छ, औषधि र शिक्षाले महिनाको हिसाब बिगारिदिन्छन् । दिनभरि पसिना बगाएर कमाएको पैसा साँझसम्म कहाँ हराउँछ, आफैँलाई थाहा हुँदैन । महिनाको अन्त्य आउँदा खल्ती रित्तिन्छ, तर जिम्मेवारीको सूची घट्दैन । ऋण लिएर घर चलाउँदा मनमा चिन्ता बढ्छ, ऋण तिर्न नसक्दा निद्रा हराउँछ । बाहिरबाट हेर्दा ऊ सहरको बासिन्दा हो, तर भित्रभित्रै ऊ अभावको कैदी बनेको हुन्छ ।

कहिलेकाहीँ ऊ गाउँ सम्झन्छ । आमाले पकाएको मकैको रोटी, बाबुले खनेको बारी, धाराको चिसो पानी, साथीभाइसँगको हाँसो र साँझपख आँगनमा बसेर गरिने कुराकानी सम्झन्छ । अनि चुतारी मीठो गफ र दसैँमा गाउँ फर्किँदा पुरानो घरको भित्तो छोएर आँखा रसाउँछन् । आमाले सोध्छिन्, “बाबु, सहरमा दुःख त छैन नि ?” ऊ मुस्कुराउँदै भन्छ, “छैन आमा, सबै राम्रो छ ।” तर त्यो मुस्कानभित्र लुकेको पीडा आमाले देख्न सक्दिनन् । आमालाई दुःख नहोस् भनेर छोराले आफ्नो दुःख लुकाउँछ, छोरालाई दुःख नहोस् भनेर आमाले आफ्नो अभाव लुकाउँछिन् । एउटै परिवारका सदस्यहरू एकअर्कालाई खुसी राख्न सत्य लुकाइरहेका हुन्छन् ।

के विकास भनेको अग्ला भवन, चिल्ला सडक र चम्किला बजार मात्र हुन् ? गाउँ रित्तिँदै जाने, खेतबारी बाँझिँदै जाने, बूढा आमाबाबु एक्लिँदै जाने र सहरमा युवाहरूको मन कुँडिँदै जाने अवस्थालाई के हामीले समृद्धि भन्न सक्छौँ ?

सहरले उसलाई कमाउन सिकायो, तर सायद बाँच्न बिर्सायो । दौडन सिकायो, तर कहाँ पुग्ने हो भन्ने निश्चितता दिएन । सपना देखायो, तर ती सपना पूरा गर्ने समय र सन्तोष खोसिदियो । यहाँ मान्छे घडी हेरेर हाँस्छ, समय मिलाएर भेट्छ र फुर्सद मिलाएर आफ्नै परिवारसँग बोल्छ । सम्बन्धहरू पनि व्यस्तताको तालिकामा कैद भएका छन् ।

तैपनि मान्छे सहर छाड्न सक्दैन । किनकि उसका सपना अधुरा छन्, छोराछोरीको भविष्य बाँकी छ, ऋण तिर्नु छ र घरपरिवारको जिम्मेवारी पूरा गर्नु छ । आफ्ना रहरहरू मारेर अरूका सपना सजाउने मान्छेहरूको भीड नै सहर हो । कसैले छोरालाई डाक्टर बनाउन आफ्नो जवानी फालेको छ । कसैले छोरीको बिहेका लागि जीवनभरको कमाइ जोगाएको छ, कसैले बूढा आमाबाबुको औषधिका लागि आफ्नो रोग लुकाएको छ । यहाँ कति मान्छे अरूका लागि बाँच्छन्, तर आफ्ना लागि बाँच्ने पालो कहिल्यै आउँदैन ।

अन्ततः प्रश्न उठ्छ—के जीवन भनेको कमाउनु, खर्च गर्नु र फेरि कमाउन दौडिनु मात्र हो ? के विकास भनेको अग्ला भवन, चिल्ला सडक र चम्किला बजार मात्र हुन् ? गाउँ रित्तिँदै जाने, खेतबारी बाँझिँदै जाने, बूढा आमाबाबु एक्लिँदै जाने र सहरमा युवाहरूको मन कुँडिँदै जाने अवस्थालाई के हामीले समृद्धि भन्न सक्छौँ ? गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य र सम्मानजनक जीवनका अवसर हुन्थे भने कति मान्छेले आफ्नो घर छाड्नुपर्थ्यो र ? गाउँमै उत्पादनको उचित मूल्य, सहरसरह सुविधा र भविष्यप्रतिको भरोसा हुन्थ्यो भने कति आमाका छोराहरू परदेशिन्थे र ? कति बाबुहरूले आफ्ना आँसु लुकाएर छोराछोरीलाई बिदाइ गर्नुपर्थ्यो र त्यो अन्तरास्ट्रिय बिमान्स्थलमा ?

सहरका रहर अनगिन्ती छन् । चम्किला पसल, अग्ला भवन, रंगीन बत्ती र सुखका हजारौँ विज्ञापन छन् । तर ती सबैको बीचमा एउटा साधारण मान्छेको मन भने कतै चुपचाप रोइरहेको छ । उसलाई धेरै कुरा चाहिएको छैन—दुई छाक मीठो खाना, परिवारसँग बिताउने केही समय, छोराछोरीको उज्ज्वल भविष्य, बिरामी पर्दा उपचार र मन खोलेर हाँस्न सकिने जीवन । तर विडम्बना ! यति सानो सपना पूरा गर्न पनि उसले आफ्नो जीवनको ठूलो हिस्सा खर्चिनुपर्छ ।

सहरको भीडमा हराएका ती मान्छेहरूलाई कसले देख्ने ? तिनका आँखामा गुम्सिएका आँसु कसले पुछ्ने ? तिनका मनमा वर्षौँदेखि थुनिएका रहरहरूलाई कसले आवाज दिने ?

सायद सहरले सुन्दैन यी कुराहरु ! सहर त आफ्नै गतिमा दौडिरहन्छ । तर कुनै दिन साँझको भीडमा घर फर्किरहेको एउटा थाकेको अनुहारलाई हेरेर सोच्नुहोला—ऊ पनि कुनै गाउँको सपना बोकेर आएको थियो । उसको पनि एउटा घर थियो, आँगन थियो, परिवार थियो र मनभरि रहरहरू थिए ।

आज ती रहरहरू सहरका अग्ला भवनहरूको छायामुनि गुम्सिएका छन् । ओठमा मुस्कान छ, आँखामा थकान छ, मुटुभित्र पीडा छ र मनको कुनामा एउटै प्रश्न गुञ्जिरहेको छ—

“यो पापी सहरमा सपना त हजारौँ देखिन्छ तर आफ्नै मनले चाहेको जीवनचाहिँ कहिले बाँच्न पाइन्छ र ? ”

Sharing

प्रतिक्रिया दिनुहोस