कात्तिक १०, रौतहट। माछा बोकेको पिकअपलाई पटका ओसार्ने माध्यम बनाएको खुलेको छ। बाराको पथलैया चेकपोइन्टमा प्रहरीले गरेको सवारी जाँचका क्रममा करिब ८० हजार रुपैयाँ मूल्यका विभिन्न प्रकारका पटका बरामद भएपछि रौतहटका एक युवकसहित दुई जना प्रहरी नियन्त्रणमा परेका छन्।

मंगलबार बिहान करिब ८ः३० बजे जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोइन्टमा सिम्रौनगढबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१–०३४ च ७३१५ नम्बरको पिकअप जाँच गर्दा माछासँगै लुकाएर राखिएका पटका फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरी चौकी पथलैयाबाट वरिष्ठ प्रहरी सहायक निरीक्षक युवराज दाहालको कमान्डमा खटिएको टोलीले पिकअपबाट सात प्रकारका ६४ डिब्बा पटका बरामद गरेको हो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा रौतहटको राजपुर नगरपालिका–५ का २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका–७ का २६ वर्षीय राधाकृष्ण सहनीलाई नियन्त्रणमा लिएको छ।
बरामद सामग्रीमा पेटा स्काइ प्लस ३० डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर गार्डेन एक डिब्बा, सिंगल रकेट १२ डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार चार डिब्बा र फ्लावर सो एक डिब्बा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेले जारी गरेको विज्ञप्तिअनुसार बरामद पटाकाको अनुमानित मूल्य ८० हजार रुपैयाँ रहेको छ।
पर्वलक्षित कारोबारका क्रममा पटका ओसारपसार भइरहेको आशंकामा प्रहरीले बरामद सामग्री र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।