नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा एउटा कार्यक्रममा ‘नेपालमा भारतविरोधी राष्ट्रवादको अन्त्य भएको छ’ भन्ने आशयको अभिव्यक्ति दिएपछि राजनीतिक वृत्त र सार्वजनिक बहसमा तरङ्ग उत्पन्न भएको छ । आखिर अर्थमन्त्रीको यो अभिव्यक्तिप्रति यति धेरै प्रश्न किन उठे ? के नेपालमा राष्ट्रवादको अर्थ भारतको विरोध गर्नु मात्रै हो ? अथवा राष्ट्रवादको अन्त्य भएको घोषणा गर्नु नै राष्ट्रप्रतिको जिम्मेवारी हो त ?

अर्थमन्त्रीको भनाइलाई सामान्य कूटनीतिक अभिव्यक्तिका रूपमा मात्र लिन सकिँदैन । किनभने उनी कुनै निजी हैसियतमा नभई नेपालको अर्थतन्त्र र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका व्यक्ति हुन् । सरकारको प्रतिनिधिका रूपमा विदेशमा व्यक्त गरिने विचारले व्यक्तिगत धारणा मात्र होइन, मुलुकको दृष्टिकोणसमेत प्रतिबिम्बित गर्छ । नयाँ राजनीतिक शक्तिहरूले पुराना दलहरूका कमजोरी, भ्रष्टाचार, कुशासन र असफलतामाथि प्रश्न उठाउँदै जनताको समर्थन प्राप्त गरेका हुन् । परिवर्तनको आशासहित जनताले नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएका छन् । यस्तो अवस्थामा नयाँ सरकारका जिम्मेवार व्यक्तिबाट आउने अभिव्यक्ति अझ बढी संवेदनशील र अर्थपूर्ण हुन्छन् । पुराना दलले राष्ट्रहितको रक्षा गर्न सकेनन् भन्ने आरोप लगाएर स्थापित भएको राजनीतिक शक्तिको नेतृत्वले नै राष्ट्रवादको अन्त्य भएको सन्देश दिन खोजेपछि प्रश्न उठ्नु स्वाभाविक हो ।
संयुक्त राष्ट्रसंघको सदस्यका रूपमा नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र हो । राष्ट्रको आकारले यसको स्वाधीनताको गरिमा निर्धारण गर्दैन । त्यसैले नेपालको विदेश नीति राष्ट्रिय हित, पारस्परिक सम्मान र समान सार्वभौमिकताको सिद्धान्तमा आधारित हुनुपर्छ ।
राष्ट्रवाद के हो ? राष्ट्रियता के हो ?
राष्ट्रवाद भनेको अर्को राष्ट्रप्रतिको घृणा होइन । आफ्नो देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र जनताको हितप्रतिको निष्ठा हो । राष्ट्रियता भनेको नागरिकलाई एउटै राष्ट्रसँग जोड्ने साझा पहिचान, अपनत्व र राष्ट्रिय एकताको भावना हो । यी दुवै भावना कुनै विदेशी राष्ट्रको विरोधबाट मात्र जन्मिँदैनन् । तर आफ्नो राष्ट्रिय हितमा आँच आउँदा त्यसको प्रतिरक्षा गर्नु राष्ट्रवादकै अभिन्न पक्ष हो । नेपालको भारतसँग भौगोलिक, आर्थिक, सांस्कृतिक र सामाजिक सम्बन्ध छ । भारत नेपालको महत्त्वपूर्ण छिमेकी तथा व्यापारिक साझेदार पनि हो । त्यसैले भारतसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु नेपालको आवश्यकता हो । तर मैत्रीपूर्ण सम्बन्धको अर्थ राष्ट्रिय स्वाभिमानमा सम्झौता गर्नु भने कदापी होइन । मित्रता र आत्मसमर्पणबीचको भिन्नता बुझ्नु नै परिपक्व कूटनीति हो भन्ने कुराको पनि ख्याल राख्नुपर्दछ ।
नेपाल सानो भूगोल र सीमित आर्थिक क्षमताको राष्ट्र होला, तर यसको सार्वभौमिकताको मूल्य कुनै ठूलो राष्ट्रको भन्दा कम हुँदैन । संयुक्त राष्ट्रसंघको सदस्यका रूपमा नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र हो । राष्ट्रको आकारले यसको स्वाधीनताको गरिमा निर्धारण गर्दैन । त्यसैले नेपालको विदेश नीति राष्ट्रिय हित, पारस्परिक सम्मान र समान सार्वभौमिकताको सिद्धान्तमा आधारित हुनुपर्छ । अर्थमन्त्री वाग्लेको यसअघिको नेपाली सेनाको संख्या घटाउने विषयसँग सम्बन्धित अभिव्यक्तिले पनि बहस सिर्जना गरेको थियो । त्यस विषयमा मैले कान्तिपुर दैनिकमा लेखसमेत लेखेको थिएँ । राष्ट्रिय सुरक्षा र राष्ट्रको सामरिक आवश्यकतासँग जोडिएका विषयमा जिम्मेवार पदाधिकारीले बोल्दा त्यसको दीर्घकालीन प्रभावबारे गम्भीर हुनुपर्छ । अहिलेको अभिव्यक्तिले पनि त्यही प्रश्नलाई पुनः सतहमा ल्याएको छ—के हामी आर्थिक समृद्धिको नाममा राष्ट्रिय स्वाभिमानको बहसलाई अनावश्यक ठान्न थालेका हौँ ?
सरकार बदलिन सक्छ, दल बदलिन सक्छन् र नेतृत्व बदलिन सक्छ; तर राष्ट्रको सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान कुनै पनि राजनीतिक परिवर्तनसँगै बदलिन सक्दैनन् । राष्ट्रवादको अन्त्य होइन, अतिवादको अन्त्य आवश्यक छ ।
अर्थमन्त्रीको अभिव्यक्तिलाई विदेशी भक्तिको प्रमाणका रूपमा ठोकुवा गर्नु उचित हुँदैन । तर त्यसको आशय, सन्दर्भ र कूटनीतिक सन्देशबारे प्रश्न उठाउनु नागरिकको अधिकार हो । भारतविरोधी भावनालाई निरुत्साहित गर्नु र नेपाली राष्ट्रवाद नै समाप्त भएको घोषणा गर्नु एउटै कुरा होइनन् । यी दुईबीचको अन्तर बुझ्न नसक्दा अभिव्यक्तिले अनावश्यक विवाद निम्त्याउँछ ।
नेताहरूले विदेश भ्रमण गर्दा आफ्नो पद, प्रतिष्ठा र व्यक्तिगत लोकप्रियताभन्दा माथि राष्ट्रको हितलाई राख्नुपर्छ । कूटनीति भनेको शक्तिशाली राष्ट्रलाई खुसी पार्न शब्द चयन गर्नु मात्र होइन; राष्ट्रिय स्वार्थको रक्षा गर्दै पारस्परिक विश्वास र सम्मान कायम राख्ने कला पनि हो ।
अन्ततः प्रश्न भारतको पक्षमा बोल्यो कि विपक्षमा भन्ने होइन । प्रश्न हो—नेपालको हितलाई केन्द्रमा राखेर बोलियो कि बोलिएन ? राष्ट्रवादको अर्थ विदेशीसँग शत्रुता गर्नु होइन, तर आफ्नो राष्ट्रको स्वाभिमानप्रति दृढ रहनु हो । सरकार बदलिन सक्छ, दल बदलिन सक्छन् र नेतृत्व बदलिन सक्छ; तर राष्ट्रको सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान कुनै पनि राजनीतिक परिवर्तनसँगै बदलिन सक्दैनन् । राष्ट्रवादको अन्त्य होइन, अतिवादको अन्त्य आवश्यक छ । नेपालको आवश्यकता भनेको भारतविरोधी राजनीति होइन, भारतसँग समानता र पारस्परिक सम्मानमा आधारित सम्बन्ध कायम राख्दै अन्य छिमेकी राष्ट्रसंग पनि मित्रता कायम राख्दै अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो ।