• २०८३ कार्तिक ८ गते शनिवार

ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल

निरोज कोइराला पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ७, भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा पनि ढिकी जाँतो बिस्थापित हुँदै जान थालेको छ । ग्रामीण बस्तीमा समेत विद्युतको पहुँच पुगेपछि ढिकी जाँतोको बिकल्प साना मिल बनेको हो । साना मिलका कारण ठूला कुटानी मिल समेत बिस्थापित हुन थालेको छ । अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् । गाउँगाउँमा विद्युतको पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन् ।

अनुदानमा विभिन्न सरकारी निकायबाट साना मिल वितरण हुन थालेपछि घरघरमा मिल राख्न सुरु गरिएको छ । मिल सञ्चालन गर्दै आउनु भएका निरकुमार प्रधानले भने, ‘गाउँघरबाट ढिकी, जाँतो त विस्थापित हुँदै गयो । अहिले त साना मिलका कारण ठूला मिलसमेत विस्थापित हुँदै गएका छन् ।’

विद्युत गाउँगाउँमा पुगेसँगै घरघरमा साना मिल जडान हुन थालेका उनले बताए ।

घर परिवारमा ठूला मिलसम्म धान, मकै कोदो लिएर कुटाउन जानेको संख्या पनि कमी हुँदै गएकाले पनि घरघरमै साना मिल राख्न थालिएको साना मिल सप्लायर्स बाजिम मगरले बताए ।

उनले भने, ‘अहिले मेरोमा साना मिल खरिद गर्नेको सङ्ख्या बढदै गएको छ । ४०—४५ हजारमै साना मिल खरिद गर्नसक्ने भएकाले यसतर्फ आर्कषण बढेको हो ।’

सानो मिल आएपछि समय र श्रम दुवैको बचत भएको स्थानीय नवीन प्रधानले बताए । साना मिलले स्थानीयवासीलाई सहजता थपिएको उनको भनाइ थियो ।

‘आफूलाई आवश्यक पर्ने थोरै सामग्री घरमै कुट्न सकिने भएकाले यो मिल प्रभावकारी देखिएको छ । ठुला मिलमा कुटानी पिसानीका लागि आउनेको सङ्ख्या घटदै जान थालेपछि आफूले लामो समय सञ्चालन गरेको मिल बन्द गरेको अत्तर राइस मिलका सञ्चालक जीवन श्रेष्ठले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस