कात्तिक ७, ताप्लेजुङ । नेपालीहरुको महान पर्व दशैं सकिएसँगै तिहार नजिकिदै गएको छ । दशैं मनाउन आउने आफ्न्तहरु समेत आफ्नो घर तथा व्यापार व्यवसायमा फर्कन थालेका छन् । विगतका वर्षहरुमा गाउँघरदेखि दशैं मनाउन पुगेकाहरुले लिङ्गे पिङ खेलेर मात्र फर्कनेहरु यस पटक त्यो अवसर पाएनन् ।

विगतका वर्षहरुमा ताप्लेजुङ जिल्लाको गाउँ–गाउँमा लिङ्गे पिङ थाप्ने र दशैं तिहारमा पिङ्खेल्ने परम्परा रहिआएको थियो । तर यस वर्ष भने जिल्लामा लिङ्गे पिङको संख्या न्यून देखिएको छ ।
टीका लगाइसकेपछि एक पटक धर्ती छाड्नैपर्छ भन्ने मान्यताको आधारमा पिङ् खेल्ने गरिन्छ । तर पिङ्ग भने अहिले लोप हुँदै गएको छ । विगतमा ताप्लेजुङमा नेपाली सेनाले आर्मी ब्यारेकमा सर्वसाधारणका लागि समेत खुल्ला हुनेगरी लिङ्गे पिङ थाप्ने कार्य निरन्तरता दिंदै आएको छ ।
विगतका वर्षहरुमा टोल—टोलमा हुने लिङ्गे पिङ सिमित क्षेत्रमा मात्र थापेको देखिन्छ । फुङ्लिङ नगरपालिका र हाङदेवाको गाइगुडे, पाथीभरा याङवरक गाउँपालिकाको नाङखल्याङ र सिरिजंघा गाउँपालिकाको खेवा क्षेत्रमा गरी जिल्लामा करिब ६ वटा मात्र लिङ्गे पिङ थापिएका छन् ।
सदरमुकाम फुङ्लिङमा समेत विरेन्द्र चोक युवा क्लबको आयोजनामा समेत दशैं तिहारको अवसरमा लिङ्गे पिङ थाप्ने कार्य गर्दै आएको थियो तर क्लबले दुई वर्ष यता पिङ् लगाउन छाडेको छ ।
त्यस्तै गुम्बा डाँडा क्षेत्रमा समेत विगतमा लिङ्गे पिङ थाप्ने गरिन्थ्यो तर एक वर्ष यता यस क्षेत्रमा समेत लिङ्गे पिङ थाप्न छाडेका छन् । प्रत्येक वर्ष लिङ्गे पिङ थाप्ने र पिङ खेल्ने प्रचलन लोप हुँदै गएको छ ।
दशंै र तिहारलाई लक्षित गरी लगाइने पिङ् एकदशक अघिसम्म गाउँघरमा जताजतै देख्न पाइन्थ्यो । गाँउगाँउमा लिङ्गे पिङ् प्रचलनमा थियो । गाँउभरका गाउँले भेला भएर स्थानीय बाबियो, बाँस, सनपाट आदिबाट लिङ्गे पिङ तयार पारिन्थ्यो ।
दशैंमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिइसकेपछि एकपटक धर्र्ती छाड्नै पर्छ भन्ने मान्यताको आधारमा खेलिने पिङ् दशैंमा नौरथा लागेसँगै लगाइन्थ्यो र तिहारसम्म खेल्ने गरिन्थ्यो । त्यो बेला दशैं–तिहारको मुख्य मनोरन्जनको साधनको रुपमा पिङ लाउने चलन थियो ।
त्यस्तै दशैंमा टीका लगाइसकेपछि धर्ती छाड्दा गति परिन्छ भन्ने मान्यताको आधारमा परापूर्वकालदेखि नै पिङ्ग खेल्ने प्रचलन रहेको फक्ताङलुङ गाउँपालिका—६ मादिबुङका सन्त लिम्बूले बताए ।
अहिले भने ति पिङ्हरु लोप हँुदै गएका छन् । एउटा लिङ्गे पिङ् भेट्नको लागि धेरै गाँउ चाहर्दा मात्र बल्लबल्ल देख्न पाइन्छ । त्यो समयका मनोरन्जनको रुपमा लिइने लिङ्गे पिङलाई अहिले अन्य मनोरन्जनका साधन तथा सामाजिक सञ्जालमै मनोरञ्जन गर्ने भएकाले परम्परागत संस्कृतीसंग जोडिएको लिङ्गे पिङ् थाप्ने र खेल्ने परम्परा लोप हुँदै गएको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले बताए ।