असोज २८, तेहरान। इराकी प्रधानमन्त्री अली फलेह अल-जैदीले साउदी युवराज मोहम्मद बिन सलमानलाई साउदी अरबविरुद्ध आक्रमण गर्न इराकी भूमिको प्रयोग हुन नदिने आश्वासन दिएका छन्। गत मे महिनामा पदभार ग्रहण गरेयता साउदी अरबको पहिलो भ्रमणका क्रममा अल-जैदी बुधबार रियाद आइपुगेका हुन्।

इराकी समाचार संस्थाका अनुसार उनले इराकबाट अन्य क्षेत्रीय मुलुकहरूविरुद्ध कुनै किसिमका आक्रमण नहुने स्पष्ट पारेका छन्। अल-जैदीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “साउदी अरब र यस क्षेत्रका मुलुकहरूको सुरक्षामा आँच पुर्याउने कुनै पनि आक्रमण वा गतिविधिमा आफ्नो भूभाग प्रयोग हुन नदिन तथा असल छिमेकीपनका सिद्धान्त पालना गर्दै इराक र मित्रराष्ट्रहरूको सार्वभौमसत्ताको सम्मान गर्न इराक दृढ छ।”
यमनका हुथी विद्रोहीहरूको तीव्र आक्रमणका क्रममा गत महिना साउदी अरबको पूर्व-पश्चिम तेल पाइपलाइनमा ड्रोन हमला भएको थियो। उक्त आक्रमणका कारण रियादले तेल निर्यात गर्ने सो मार्ग अस्थायी रूपमा बन्द गर्नुपरेको थियो। साउदी अरबले ‘स्ट्रेट अफ हर्मुज’ को विकल्पका रूपमा यो मार्ग प्रयोग गर्दै आएको छ।
दैनिक ७० लाख ब्यारेलसम्मको क्षमता भएको उक्त पाइपलाइनको सञ्चालन भने अहिले पुनः सुरु भइसकेको छ। यसअघि साउदी अरबले सो ड्रोन आक्रमण इराकबाट भएको दाबी गरेको थियो। यद्यपि, बगदादले आफ्नै तर्फबाट गरेको अनुसन्धानले ती आक्रमणहरू इराकी भूभागबाटै गरिएको निष्कर्ष निकालेको थियो।
उक्त आक्रमणको जिम्मा कसैले लिएको छैन, तर इराकमा इरान-समर्थित विभिन्न सशस्त्र समूहहरू सक्रिय रहँदै आएका छन्।