• २०८३ असोज २९ गते बिहिवार

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने ‘क्रिमिनल’ पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, जनकपुरधाम। सामाजिक सञ्जालमार्फत समाजमा हिंसा फैलाउने तथा विभिन्न व्यक्ति, समुदाय र सङ्गठनको मर्यादामा आँच पुग्ने गरी आपत्तिजनक सामग्री पोस्ट गरेको आरोपमा ‘क्रिमिनल’ भनिने एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ बस्ने करिब २० वर्षीय ‘क्रिमिनल’ भनिने राजु यादवलाई सामाजिक सञ्जालमा हिंसा फैलाउने उद्देश्यले उत्तेजित पार्ने सामग्री, गालीगलौज, आपत्तिजनक शब्द तथा धम्कीपूर्ण सामग्री पोस्ट गरेको आरोपमा पक्राउ गरिएको हो।

प्रहरीले उनलाई २०८३ असाेज २७ गते राति करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिएको जनाएको छ। त्यसैगरी, सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न व्यक्ति, समुदाय तथा सङ्गठनको मानमर्दन हुने किसिमका फोटो, भिडियो, गालीगलौज र धम्कीपूर्ण सामग्री पोस्ट गर्ने अन्य चार जनामाथि समेत अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा कानुनको पालना गर्न, अरूको मानमर्दन हुने तथा हिंसा भड्काउने सामग्री पोस्ट नगर्न र अनलाइन माध्यमबाट धम्की दिने वा आपत्तिजनक गतिविधि नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस