• २०८३ कार्तिक २१ गते शुक्रवार

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा विशेष छुट दिने सम्झौता

लोकराज जोशी पढ्न लाग्ने समय : २ मिनेट

असोज २२, धनगढी । नवजीवन सहकारी संस्था लिमिटेड र धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा सञ्चालित कैलाली हस्पिटल प्रा.लि. बीच सहकारीका सेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। सहकारीका सेयर सदस्यहरूलाई सहज, गुणस्तरीय तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नवजीवन सहकारी संस्था र कैलाली हस्पिटलबीच उक्त सम्झौता गरिएको हो। सम्झौतापछि नवजीवन सहकारीमा आबद्ध सेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यले कैलाली हस्पिटलबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य उपचार तथा सेवामा सम्झौताअनुसार विशेष छुटको सुविधा प्राप्त गर्नेछन्।

सम्झौतापत्रमा नवजीवन सहकारी संस्था लिमिटेडका तर्फबाट अध्यक्ष गोपाल राज पाठक र कैलाली हस्पिटल प्रा.लि.का तर्फबाट अध्यक्ष जनक राज जोशीले हस्ताक्षर गर्नुभएको थियो। सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नवजीवन सहकारी संस्थाका उपाध्यक्ष उत्तम जोशी, सञ्चालक समिति सदस्य लक्ष्मीराज पन्त, महाप्रबन्धक प्रदीपराज जोशी, उपप्रबन्धक (कानून) जयन्द्र ठकुल्ला लगायतको उपस्थिति रहेको थियो। त्यस्तै, कैलाली हस्पिटलका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. आकाश रावल, डा. बिवेक जोशी लगायतका महानुभावहरूको सहभागिता रहेको थियो।

सम्झौताले सहकारी र स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै सेयर सदस्यहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास गरिएको छ। पछिल्लो समय सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूको आर्थिक हितसँगै सामाजिक तथा स्वास्थ्यसम्बन्धी आवश्यकतालाई समेत प्राथमिकतामा राख्दै विभिन्न सेवा तथा सहुलियतका कार्यक्रम अघि बढाउँदै आएका छन्। नवजीवन सहकारी संस्थाले पनि आफ्ना सेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा सहज पहुँच र आर्थिक राहत प्रदान गर्ने उद्देश्यले कैलाली हस्पिटलसँग सहकार्य गरेको जनाएको छ।

यस सम्झौताबाट संस्थाका सेयर सदस्य र उनीहरूका परिवारका सदस्यले स्वास्थ्य उपचारका क्रममा विशेष छुटको सुविधा प्राप्त गरी उपचार खर्चमा समेत राहत पाउने अपेक्षा गरिएको छ। सहकारीका सदस्यहरूलाई प्रत्यक्ष लाभ पुग्ने यस्ता सहकार्यले सदस्य सेवा र सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। नवजीवन सहकारी र कैलाली हस्पिटलबीच भएको यो सम्झौता आगामी दिनमा सदस्यकेन्द्रित स्वास्थ्य सेवाको विस्तारका लागि महत्वपूर्ण कदम बन्ने अपेक्षा गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस