• २०८३ असोज १८ गते आइतवार

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सुशील भट्टको उम्मेदवारी घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १८,  काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुशील भट्टले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। राजधानी काठमाडौंमा महाधिवेशन प्रतिनिधि, अग्रज, युवा तथा पार्टीका शुभेच्छुकहरूलाई सम्बोधन गर्दै भट्टले कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका हुन्।

आफ्नो उम्मेदवारीको कारणबारे उनले आफूलाई इमानदार कांग्रेस कार्यकर्ताको विश्वास, परिवर्तन चाहने युवाको आवाज तथा अग्रज पुस्ताको अनुभव र मार्गदर्शन प्राप्त रहेको उल्लेख गरेका छन्। उनले आफ्नो टिम कुनै व्यक्ति वा समूह नभई सिंगो नेपाली कांग्रेस भएको बताएका छन्।

भट्टले आफ्नो राजनीतिक भूमिकालाई ‘रुखको जरा’सँग तुलना गर्दै भनेका छन्, “म रुखको जरा हुँ। जरा माथि पुग्न खोज्दैन, रुखलाई बलियो बनाउन माटोमुनि बसेर काम गर्छ।”

कांग्रेसलाई बलियो, जनमुखी र आशावादी बनाउने अभियानमा आफ्नो उम्मेदवारी केन्द्रित रहेको उनको भनाइ छ। उनले आफ्नो अभियान कुनै एक पुस्तामा सीमित नभएको भन्दै अग्रजदेखि युवासम्मलाई जोड्ने सेतु बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

“‘बा’देखि युवासम्म र दाइदेखि एआईसम्मलाई जोड्ने डिभाइस बन्न चाहन्छु,” भट्टले भनेका छन्। परम्पराको सम्मान गर्दै परिवर्तनको बाटो रोज्नुपर्ने आवश्यकता औँल्याउँदै उनले कांग्रेसले अब इतिहास सम्झिने मात्र नभई नयाँ इतिहास निर्माण गर्ने पुस्तासँगै अघि बढ्नुपर्ने बताएका छन्।

काठमाडौं क्षेत्र नं. ७ का महाधिवेशन प्रतिनिधिसमेत रहेका भट्टले आफ्नो उम्मेदवारीलाई अमूल्य माया, विश्वास, साथ र शुभेच्छाले अनुमोदन गरिदिन महाधिवेशन प्रतिनिधिहरूसमक्ष अपिल गरेका छन्। उनले आफूले बोलेर भन्दा काममार्फत कांग्रेसलाई बलियो बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस