• २०८३ असोज १५ गते बिहिवार

विपद्ले सरकार र प्रतिपक्ष छुट्याउँदैन : सांसद पराजुली

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असोज १५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले विपद्को समयमा आरोप–प्रत्यारोपभन्दा तथ्यमा आधारित समीक्षा, रचनात्मक सहकार्य र परिणाममुखी काम आवश्यक रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले भोटेकोशी र त्रिशूलीको विपत्तिको घाउ ओभाउन नपाउँदै पछिल्लो समय आएको बाढी, पहिरो र डुबानले थप परिवार प्रभावित भएको बताए ।

उनले भने, ‘भोटेकोशी, त्रिशूली महाविपत्तिको हृदयविदारक घाउ ओभाउन नपाउँदै अघिल्लो हप्ता परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले फेरि थुप्रै परिवारको खुसी, सहारा खोसेको छ । सरकारले घाइतेहरूको उपचारलाई उच्च प्राथमिकता दिइरहेको छ । उपचारले शरीरमा लागेका चोट त निको पार्न सक्छ, तर प्रियजन र जीवनभर जोडेको सर्वस्व गुमाउँदा मनमा लागेको घाउ निको हुन भने पक्कै समय लाग्नेछ ।’

राज्यको उपस्थिति औषधि, उपचार र राहतमा मात्र सीमित नभई पीडितको हात समात्ने संवेदनशीलता, निरन्तर साथ र भविष्यप्रतिको भरोसामा पनि देखिनुपर्ने उनको भनाइ छ ।

पराजुलीले पूर्वसूचना र पूर्वतयारी हुँदाहुँदै पनि ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै आगामी दिनमा विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।

उनले भने, ‘राज्यले मौसम पूर्वानुमानका आधारमा पूर्वसूचना प्रवाह र पूर्वतयारी गरिएता समेत हामीले अमूल्य जीवन, धेरै भौतिक संरचना र सम्पत्तिको क्षति व्यहोर्नुपरेको छ । प्रत्येक गुमेको परिवारको लागि अपूरणीय क्षति हो र राज्यका लागि भविष्यमा अझ राम्रो पूर्वतयारी गर्नुपर्ने गम्भीर पाठ पनि हो।’

विपद्को समयमा देशभित्र तथा विदेशबाट सहयोग गर्ने व्यक्ति, संस्था, निजी क्षेत्र, प्रवासी नेपाली समुदाय तथा मित्रराष्ट्रप्रति उनले आभार व्यक्त गरे ।

उनले पीडितको पुनर्स्थापना अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सुरक्षित छानो, बालबालिकाको पढाइ, नियमित उपचार, जीविकोपार्जन र सम्मानजनक जीवन फर्काउने काममा निरन्तर सहयोग आवश्यक रहेको बताए ।

उनले भने, ‘सुरक्षित छानो, बालबालिकाको पढाइ, नियमित उपचार, जीविकोपार्जन र सम्मानजनक जीवन फर्काउने हाम्रो साझा जिम्मेवारी अझै बाँकी छ । सरकारका सम्बन्धित निकाय र स्थानीय तहसँग समन्वय गरी पीडितका घाउमा मलम लगाउन र पुनर्निर्माणलाई पूर्णता दिन यहाँहरूको अमूल्य सहयोग अपरिहार्य रहेको छ । त्यसैले आफ्नो सहयोगलाई निरन्तरता दिनुहुन सम्पूर्णमा हार्दिकतासहित अपिल पनि गर्दछु ।’

उनले जोखिममा रहेका नागरिकको जीवन जोगाउने, प्रभावित परिवारसम्म समयमै सहायता पुर्याउने र अवरुद्ध जनजीवनलाई यथाशीघ्र सामान्य बनाउने विषय सरकारको साझा प्राथमिकता हुनुपर्ने बताए ।

उनका अनुसार जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गरिएका नागरिकको बसाइ सुरक्षितसँगै मर्यादित र व्यवस्थित हुनुपर्छ । राहत वितरण पहुँच वा प्रभावका आधारमा नभई आवश्यकता र जोखिमका आधारमा हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिले सरकार र हाम्रो साझा प्राथमिकता जोखिममा रहेका नागरिकको जीवन जोगाउने, प्रभावित परिवारसम्म समयमै सहायता पुर्‍याउने र अवरुद्ध जनजीवनलाई यथाशीघ्र सामान्य बनाउने कुरामा स्पष्ट हुनुपर्छ।’

विपक्षी दलले सरकारलाई खबरदारी गर्नु लोकतान्त्रिक जिम्मेवारी भए पनि उद्धार, पूर्वतयारी, कमजोरी सुधार र पीडितको पुनर्स्थापनामा सहकार्य आवश्यक रहेको उनले बताए ।

‘विपद्ले सरकार र प्रतिपक्ष छुट्याउँदैन। यसले हामी सबैको मानवीय चरित्र, राज्यको सामूहिक क्षमता परीक्षण गर्छ। त्यसैले यो समय आरोप होइन, तथ्यमा आधारित समीक्षा, रचनात्मक सहकार्य र परिणाममुखी काम गर्ने समय हो,’ उनले भने ।

उनले उद्धार र राहतसँगै सडक, पुल, सञ्चार, विद्युत् र खानेपानीजस्ता अत्यावश्यक सेवा पुनर्स्थापनालाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस