• २०८३ असोज १३ गते मङ्गलवार

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट
असोज १३, काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाइ गर्ने भएको छ । यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि ट्राफिक प्रहरीले उक्त नियम कार्यान्वयन गराउन विशेष निगरानी बढाउन लागेको हो ।
लामो दूरीका सवारीसाधनमा दुई चालक राख्नुपर्ने विद्यमान नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन ट्राफिक प्रहरीले जाँच तथा अनुगमनलाई तीव्रता दिने जनाएको छ । विशेषगरी चाडपर्वका समयमा यात्रुको चाप बढ्ने र रातिको समयमा लामो दूरीका बस सञ्चालन हुने भएकाले चालकको थकानका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न यस्तो व्यवस्था कार्यान्वयनमा कडाइ गर्न लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा दुई चालक भए–नभएको विषयमा ट्राफिक प्रहरीले नियमित रूपमा जाँच गर्नेछ । नियमविपरीत एक जना मात्रै चालक राखेर सवारी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ ।
विशेषगरी रातिको समयमा लामो दूरीको यात्रा गर्दा चालकलाई पर्याप्त आराम नपुग्ने तथा लगातार सवारी चलाउँदा थकानका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले दुई चालकको व्यवस्था प्रभावकारी बनाउन लागिएको ट्राफिक प्रहरी प्रमुख काफ्लेको भनाइ छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक राख्नुपर्ने नियमलाई थप कडाइका साथ लागू गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “चालकसहित यात्रुहरूको सुरक्षाका लागि रात्रिकालीन सेवाका सवारीसाधनमा दुई चालक राख्नुपर्ने नियम छ । त्यसैलाई अब थप कडाइका साथ लागू गर्दैछौँ ।”
दुई चालकको व्यवस्था कार्यान्वयन भएमा चालकले पालैपालो सवारी चलाउन सक्ने र लामो यात्रामा चालकको थकान व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रवक्ता सुवेदीको भनाइ छ ।
यसैगरी लामो दूरीका सवारीसाधनका चालकले मादकपदार्थ तथा लागू पदार्थ सेवन गरे–नगरेको विषयमा समेत ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच गर्ने भएको छ ।  सवारी सञ्चालन गर्नुअघि तथा यात्राका क्रममा चालकको अवस्था जाँच गरी सम्भावित जोखिम नियन्त्रण गर्ने उद्देश्यले यस्तो निगरानी बढाउन लागिएको प्रवक्ता सुवेदीले बताउनुभयो । चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने, टिकटको माग उच्च हुने र लामो दूरीका सवारीसाधनको आवागमन बाक्लिने भएकाले यात्रुको सुरक्षा तथा यातायात व्यवस्थापनलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गर्न लागिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित अभियानअन्तर्गत सवारीसाधनको अवस्था, चालकको योग्यता तथा नियम पालना भए–नभएको विषयमा समेत निगरानी गर्ने जनाएको छ ।  यात्रुलाई सुरक्षित यात्रा गराउने, सवारी दुर्घटना नियन्त्रण गर्ने र यात्रु ठगीका घटनालाई रोक्ने उद्देश्यले अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
यसका लागि दिवा तथा रात्रिकालीन समयमा सडकमा ट्राफिक प्रहरीको थप उपस्थिति गराइनेछ । मुख्य सडक, सवारी आवागमन बढी हुने क्षेत्र तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने स्थानमा प्रहरी परिचालन गरी नियमित जाँच तथा अनुगमन गरिने जनाइएको छ ।
चाडपर्वका बेला यात्रुको आवागमन सहज र सुरक्षित बनाउन ट्राफिक प्रहरीले सार्वजनिक यातायातका साधनमा यात्रु ठगी हुन नदिन पनि निगरानी गर्नेछ । यात्रुबाट निर्धारितभन्दा बढी भाडा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असुविधा हुने गतिविधि रोक्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चालिने प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार सवारी दुर्घटना न्यूनीकरणका लागि चालकले ट्राफिक नियम पालना गर्नुका साथै यात्रुले पनि सुरक्षित यात्राका लागि आवश्यक सावधानी अपनाउनुपर्ने हुन्छ ।
लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था र चालकको सुरक्षालाई ध्यान दिनु आवश्यक रहेको प्रहरीको भनाइ छ । चाडपर्वका समयमा सडकमा सवारीसाधनको चाप बढ्ने र यात्रुहरूको आवागमन बाक्लिने भएकाले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विशेष अभियान सञ्चालन गर्न लागिएको हो । अभियानमार्फत सडकमा प्रहरीको उपस्थिति बढाइ यात्रुलाई सुरक्षित यात्राको प्रत्याभूति दिलाउने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस