असाेज १३, धनगढी । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप–२०८३ अन्तर्गत आज सम्पन्न दुई सेमिफाइनल खेलबाट चैतन्य पाठशाला र सत्यवती एकेडेमी बी फाइनलमा प्रवेश गरेका छन्। फाप्ला क्रिकेट मैदान, धनगढीमा भएको रोमाञ्चक प्रतिस्पर्धामा चैतन्य पाठशालाले बझाङ जिल्ला क्रिकेट संघलाई ५ विकेटले पराजित गर्दा सत्यवती एकेडेमी बीले डिसिए क्रिकेट क्लबलाई २ रनले हराउँदै फाइनल यात्रा तय गरेको हो।

पहिलो सेमिफाइनल : चैतन्य पाठशाला ५ विकेटले विजयी
पहिलो सेमिफाइनलमा टस जितेर चैतन्य पाठशालाले बझाङ जिल्ला क्रिकेट संघलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। बझाङले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ९३ रन बनाएको थियो। बझाङका लागि हिमाल दौल्यालले आक्रामक अर्धशतकीय पारी खेल्दै २८ बलमा ५० रन बनाए। उनले आफ्नो पारीमा २ चौका र ५ छक्का प्रहार गरे। छोटो प्रारूपको खेलमा हिमालको आक्रामक ब्याटिङले बझाङलाई सम्मानजनक योगफलतर्फ अघि बढाएको थियो।
चैतन्य पाठशालाका बलरमध्ये हिक्मत महराले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए भने मिलन बोहराले २ ओभरमा १३ रन खर्चेर २ विकेट लिए। ९४ रनको लक्ष्य पछ्याएको चैतन्य पाठशालाले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ९८ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्यो। चैतन्यका लागि किरनकुमार ठगुन्नाले २२ बलमा २६ रन बनाए। उनले २ चौका र २ छक्का प्रहार गरे। त्यस्तै विरेन्द्र वमले ६ बलमा अविजित १८ रन बनाउँदै टोलीलाई जिततर्फ पुर्याए। उनले १ चौका र २ छक्का प्रहार गरे।
कप्तान वसन्तसिंह कार्कीले ७ बलमा १३ रन बनाउँदा ३ चौका प्रहार गरे। नरेन्द्र रानाले ६ बलमा १० रन बनाउँदै १ छक्का प्रहार गरे। बझाङका बलर लोकेन्द्र चन्दले २ ओभरमा २७ रन खर्चेर २ विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन। अन्ततः चैतन्य पाठशालाले १० ओभरमा ९८ रन बनाएर ५ विकेटको जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो। उत्कृष्ट बलिङ प्रदर्शन गरेका चैतन्य पाठशालाका मिलन बोहरा प्लेयर अफ दी म्याच घोषित भए।
दोस्रो सेमिफाइनल : सत्यवती एकेडेमी बीको रोमाञ्चक २ रनको जित
दोस्रो सेमिफाइनलमा टस जितेर सत्यवती एकेडेमी बीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित १० ओभरको खेलमा सत्यवती एकेडेमी बीले १० विकेट गुमाउँदै ९६ रन बनायो। सत्यवतीका लागि गौतम केसीले ११ बलमा २१ रन बनाएर सर्वाधिक योगदान गरे। उनले ३ छक्का प्रहार गरे। सन्तोष कार्कीले ८ बलमा १९ रन बनाउँदा १ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै अर्जुन बिकले ८ बलमा १६ रन बनाएर २ चौका र १ छक्का प्रहार गरे भने सुजन गौतमले ५ बलमा १२ रन बनाउँदै १ चौका र १ छक्का प्रहार गरे। डिसिए क्रिकेट क्लबका बलरमध्ये सचिन भट्टले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए। दीपक बोहराले १.३ ओभरमा २० रन खर्चेर २ विकेट, भोजराज भट्टले २ ओभरमा १९ रन खर्चेर २ विकेट तथा दिनेश अधिकारीले २ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। ९७ रनको लक्ष्य पछ्याएको डिसिए क्रिकेट क्लबले पनि उत्कृष्ट संघर्ष गरेको थियो। तर निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ९४ रनमै सीमित भएपछि सत्यवती एकेडेमी बीले २ रनको रोमाञ्चक जित हासिल गर्यो।
डिसिएका लागि दिनेश अधिकारीले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ३० रन बनाए। उनले २ चौका र ३ छक्का प्रहार गरे। आशिष लुहारले १० बलमा १८ रन बनाउँदै २ छक्का प्रहार गरे भने दिनेश रावतले १४ बलमा १७ रन बनाउँदा १ चौका र १ छक्का प्रहार गरे। सत्यवती एकेडेमी बीका बलरमध्ये अर्जुन बिकले २ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। त्यस्तै गौतम केसीले २ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। अन्तिम ओभरसम्म रोमाञ्चक बनेको खेलमा डिसिए क्रिकेट क्लब लक्ष्यबाट २ रन टाढा रोकिएपछि सत्यवती एकेडेमी बी फाइनलमा पुग्न सफल भयो। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका सत्यवती एकेडेमी बीका अर्जुन बिक प्लेयर अफ दी म्याच घोषित भए।
उपाधिका लागि चैतन्य पाठशाला र सत्यवती एकेडेमी बी भिड्ने
दुवै सेमिफाइनलमा रोमाञ्चक प्रतिस्पर्धापछि अब टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप–२०८३ को उपाधिका लागि चैतन्य पाठशाला र सत्यवती एकेडेमी बी आमनेसामने हुने भएका छन्। पहिलो सेमिफाइनलमा ९३ रनको लक्ष्य १० ओभरमै पूरा गर्दै चैतन्य पाठशालाले आफ्नो ब्याटिङ क्षमता प्रदर्शन गरेको छ भने दोस्रो सेमिफाइनलमा २ रनको रोमाञ्चक जित निकाल्दै सत्यवती एकेडेमी बीले दबाबमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने प्रमाणित गरेको छ। यससँगै च्याम्पियनसिपको उपाधि भिडन्त थप रोमाञ्चक बनेको छ। फाइनलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। आयोजक कैलाली जिल्ला क्रिकेट संघ ले प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्दै आएको छ भने फाप्ला क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनल खेलले प्रतियोगिताको प्रतिस्पर्धात्मकता र रोमाञ्चकतालाई थप उचाइ दिएको छ।
अब सबैको ध्यान चैतन्य पाठशाला र सत्यवती एकेडेमी बीबीच हुने फाइनल खेलतर्फ केन्द्रित भएको छ।