• २०८३ असोज १३ गते मङ्गलवार

अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिँदै ५० हजार मागेको आरोपमा युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, सर्लाही। सर्लाहीमा अश्लील तस्बिर तथा भिडियोको माध्यमबाट एक महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बसबरिया गाउँपालिका–३ का शिवचरण मुखिया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मुखियाले चिनजान तथा नातासम्बन्धको आधारमा ती महिलासँग निकटता बढाई ह्वाट्सएपमा पटक–पटक भिडियो कल गर्ने गरेका थिए। सोही क्रममा भएका अश्लील संवाद तथा गतिविधि रेकर्ड गरी उनले महिलालाई धम्क्याएको आरोप छ। प्रहरीमा परेको जाहेरीअनुसार मुखियाले रेकर्ड गरिएका अश्लील तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुका साथै आफन्तलाई समेत पठाइदिने धम्की दिएका थिए। त्यसबापत उनले ५० हजार रुपैयाँ माग गरेको आरोप छ।

घटनासम्बन्धी जाहेरीपछि प्रहरीले मुखियालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। उनलाई सर्लाही जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा सात दिन हिरासतमा राख्न अनुमति लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालमार्फत हुने यस्ता ब्ल्याकमेलिङका घटनामा पीडितले च्याट, फोन नम्बर, कल विवरण, फोटो, भिडियोलगायत डिजिटल प्रमाण सुरक्षित राख्न र तत्काल प्रहरीमा जानकारी गराउन आग्रह गरेको छ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस