असोज ११, वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा महिलाको हत्या तथा घरमा चोरी भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनामा संलग्न रहेको आरोपमा चन्दन कुमार पटेल, रामु पासवान र राजकपुर बैठा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार असोज ५ गते बिहान धोबिनीमा श्रीनिवास साह तुराहाको दुईतले पक्की घरको दोस्रो तलाको कोठामा उनकी श्रीमती लखरजिया देवी मृत अवस्थामा फेला परेकी थिइन्। घरको झ्याल तथा दराज फुटेको र नगद तथा गरगहना चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।
घटनापछि प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रहरी कार्यालयको विज्ञप्तिअनुसार पक्राउ परेकाहरूलाई पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा तीनै जनाले मृतकको घरमा प्रवेश गरी चोरी गर्ने योजना बनाएको र घटनापछि नगद तथा गरगहना लिएर फरार भएको खुलेको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
