असोज ११, काठमाडौँ । अविरल वर्षापछि आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेमा २५ घर बगेका छन् । बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेको तथा अन्य घरहरू जोखिममा रहेको प्रहरीले जनाएको छ । मानवीय क्षति भने नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन । उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ । यस्तै, देवघाटस्थित नारायणी नदीको जलसतह अधिकतम ११.६ मिटरभन्दा माथि पुग्दै करिब १३.० मिटरसम्म पुग्न सक्ने सम्भावना रहेको छ।
साथै, रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व र पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी तथा आसपासका जिल्लाबाट बहने ससाना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।