असोज ९, रामेछाप। रामेछापमा चोरी गरेको सुनको गहना खरिद गरेको आरोपमा प्रहरीले थप दुई जना सुनचाँदी पसल सञ्चालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चोरीसम्बन्धी मुद्दामा पक्राउ परेकी मैया कार्कीको बयानका आधारमा मन्थली नगरपालिका–१ कटहरबोटबाट दिलबहादुर रसाइली र निशा विश्वकर्मालाई पक्राउ गरिएको हो।

रसाइली दीपलक्ष्मी सुनचाँदी पसलका सञ्चालक हुन्। उनको पसलबाट पीडितको कानबाट निकालिएको सुनको रिङ दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त रिङको तौल १४ लाल २ प्वाइन्ट रहेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, सुविना सुनचाँदी पसलकी सञ्चालक निशा विश्वकर्मालाई पनि चोरीको सुन खरिद गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
