• २०८३ असोज ५ गते सोमवार

एमाले केन्द्रीय समितिको बैठक आजवाट, कार्यदलकाे प्रतिवेदन मुख्य अजेन्डा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) को केन्द्रीय समितिको बैठक असोज ५ गते सोमबारदेखि सुरु हुँदैछ। बैठकमा पार्टीको निर्वाचन समीक्षा, पार्टी पुनर्गठन तथा सचिवालय र कार्यदलले तयार पारेको साझा प्रस्तावमाथि विशेष छलफल हुने भएको छ।

पार्टीभित्र देखा परेका भिन्न मत र भावी रणनीतिलाई मध्यस्थता गर्दै सचिवालयले तयार पारेको प्रस्तावलाई यस बैठकमा मुख्य एजेण्डाका रूपमा पेस गरिने एमाले सचिवालय बैठकले जनाएकाे छ। बैठकका मुख्य छलफलका विषय तथा एजेण्डाहरूमा साझा प्रस्तावमाथि छलफल हुनेछ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा देखिएका दुई धार (तत्काल नेतृत्व पुनर्गठन गर्ने वा वर्तमान नेतृत्वलाई नै निरन्तरता दिने) बीच सहमति जुटाउन सचिवालयले तयार पारेको साझा प्रस्तावबारे दुवै पक्षका नेताहरूले आफ्नो धारणा राख्नेछन् भने तल्लो तहका सुझाव अनुसूचीमा समावेश गरिनेछ । कार्यदललाई १३ वटा समूहबाट प्राप्त भएका सुझावहरूलाई कुनै थपघट नगरी जस्ताको तस्तै प्रतिवेदनको अनुसूचीमा समावेश गर्ने निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गर्नेछ।

साथै, उमेर हद र दुई कार्यकालको बहस पनि याे पटक रहने भएकाे छ । पार्टी विधानमा रहेको ‘दुई कार्यकाल’ र ‘७० वर्षे उमेर हद’ हटाउने वा राख्ने विषयमा आगामी विधान महाधिवेशनमा छलफल गरी उपयुक्त निर्णय लिने विषयमा बैठकमा विचार-विमर्श हुनेछ भने राष्ट्रिय प्रतिनिधि परिषद् बैठकका मिति तय गरिनेछ । विकसित राजनीतिक परिस्थिति, शक्ति सन्तुलनको विश्लेषण, आन्दोलन तथा निर्वाचनका लागि एकीकृत योजना बनाउन उपयुक्त समयमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्ने विषयमा छलफल हुनेछ।

र, भावी राजनीतिक रणनीति अनुसार आगामी स्थानीय तह तथा प्रदेश सभाको निर्वाचनमा पार्टीको स्थिति सुदृढ बनाउन र गुमेको जनमत फिर्ता ल्याउनका लागि आवश्यक रणनीति र कार्ययोजना तय गरिने र साेमवारदेखि सुरु हुने यस बैठकलाई पार्टीभित्रको आन्तरिक एकता कायम राख्न र भावी राजनीतिक दिशा तय गर्नका लागि निकै महत्त्वपूर्ण मानिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस