• २०८३ भाद्र २५ गते बिहिवार

सुदूरपश्चिमको खेलकुद विकासमा सरकार गम्भीर बन्नुपर्ने माग

लोकराज जोशी पढ्न लाग्ने समय : ३ मिनेट

भदौ २५, धनगढी । सुदूरपश्चिम प्रदेशमा खेलकुद क्षेत्रको समग्र अवस्था सुधार गर्दै खेलाडी, प्रशिक्षक तथा खेलकर्मीको हकहित र खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न माग गर्दै नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ। नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष प्रकाश कुमार चन्दको नेतृत्वमा महासंघका केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्ललाई उहाँकै कार्यकक्षमा भेट गरी खेलकुद क्षेत्रको अवस्था सुधारका लागि विभिन्न मागसहित ज्ञापनपत्र बुझाइएको हो।

महासंघको टोलीले सुदूरपश्चिम प्रदेशमा खेलकुदको पर्याप्त सम्भावना रहे पनि आवश्यक पूर्वाधार, नियमित प्रशिक्षण, प्रतियोगिताको निरन्तरता, खेलाडीको प्रोत्साहन तथा प्रशिक्षकको व्यवस्थापनलगायतका विषयमा अझै धेरै काम गर्न बाँकी रहेको जनाएको छ। प्रदेशमा प्रतिभावान खेलाडीहरूको संख्या उल्लेख्य भए पनि उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने पर्याप्त अवसर र दीर्घकालीन रूपमा खेलकुदमा टिकाइराख्ने वातावरण निर्माण हुन नसकेको महासंघको धारणा छ।

ज्ञापनपत्र बुझाउँदै महासंघका प्रतिनिधिहरूले प्रदेश सरकारले खेलकुदलाई केवल प्रतियोगिता आयोजना गर्ने क्षेत्रका रूपमा नभई स्वास्थ्य, अनुशासन, रोजगारी, पर्यटन, सामाजिक एकता र प्रदेशको पहिचानसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।

खेलाडी उत्पादनको आधारका रूपमा रहेका विद्यालय तथा स्थानीय तहदेखि प्रदेशस्तरसम्म नियमित खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने, आवश्यक खेल मैदान तथा प्रशिक्षण केन्द्र निर्माण र स्तरोन्नति गर्नुपर्ने, खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने र प्रदेशका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने वातावरण बनाउनुपर्ने माग महासंघले अघि सारेको छ।

त्यस्तै, विभिन्न खेलका प्रशिक्षक तथा प्राविधिक जनशक्तिको उचित व्यवस्थापन, खेलाडीको क्षमता विकासका लागि नियमित प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन, खेल सामग्रीको उपलब्धता र खेलकुद संस्थाहरूसँग प्रदेश सरकारको प्रभावकारी समन्वय आवश्यक रहेकोमा समेत महासंघले जोड दिएको छ।

सुदूरपश्चिम प्रदेशले क्रिकेट, भलिबल, एथलेटिक्स, फुटबल, कराँते, तेक्वान्दो, कबड्डी लगायतका विभिन्न खेलमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गरिसकेको अवस्थामा प्रदेश सरकारले खेलकुद क्षेत्रलाई थप व्यवस्थित र योजनाबद्ध ढंगले अघि बढाउनुपर्ने महासंघको भनाइ छ।

महासंघले प्रदेशको खेलकुद विकासका लागि आवश्यक बजेट विनियोजनदेखि नीति निर्माण र कार्यान्वयनसम्म प्रदेश सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताएको छ। खेलाडीको प्रतिभा पलायन रोक्न प्रदेशमै प्रशिक्षण र प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न सके सुदूरपश्चिमबाट अझ धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने महासंघको विश्वास छ।

ज्ञापनपत्र बुझ्दै आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले खेलकुद क्षेत्रको विकासका लागि उठाइएका विषयहरूलाई सकारात्मक रूपमा लिँदै सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

महासंघको प्रतिनिधिमण्डलले प्रदेश सरकारसँग खेलकुद क्षेत्रमा देखिएका समस्या समाधानका लागि तत्काल तथा दीर्घकालीन योजना निर्माण गरी कार्यान्वयन गर्न आग्रह गरेको छ।

सुदूरपश्चिममा खेलकुदको ठूलो सम्भावना हुँदाहुँदै पनि पूर्वाधार र स्रोतसाधनको अभावका कारण धेरै प्रतिभाहरू अवसरबाट वञ्चित हुँदै आएका छन्। यस्तो अवस्थामा प्रदेश सरकार, खेलकुद परिषद्, स्थानीय तह तथा विभिन्न खेल संघसंस्थाबीच प्रभावकारी सहकार्य र समन्वय कायम गर्न सके मात्रै सुदूरपश्चिमलाई खेलकुदको बलियो हबका रूपमा विकास गर्न सकिने सरोकारवालाहरूको धारणा छ।

महासंघको पछिल्लो पहललाई प्रदेशको खेलकुद क्षेत्रका समस्या सरकारसमक्ष प्रत्यक्ष रूपमा पुर्‍याउने र समाधानका लागि दबाब सिर्जना गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस