• २०८३ भाद्र २३ गते मङ्गलवार

हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकारको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्छ : शंकर पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदाै २३, काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेन्जी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र घाइते तथा सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको दाबी गरेका हुन् ।

उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, सेवा प्रवाहलाई सहज बनाउनुपर्ने तथा सामाजिक सञ्जालको निर्बाध प्रयोग गर्न पाउनुपर्ने माग जायज रहेको बताएका छन् । यी माग सबैको साझा सरोकारका विषय भएको उनको भनाइ छ । पोखरेलले तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको दाबी गर्दै नेपालमा दर्ता हुनुपर्ने नीति अगाडि बढाएको विषय स्पष्ट पार्न नसक्दा नयाँ पुस्ता सडकमा आउन पुगेको उल्लेख गरेका छन् ।

‘नवयुवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई सुरु देखिनै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने सुनियोजित षड्यन्त्र भएको थियो भन्ने कुरा अब घामजस्तै छर्लङ्ग भइसकेको छ’ उनले लेखेका छन् ।

शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनु नै जेनजी आन्दोलनको वास्तविक भावनाको सम्मान हुने पोखरेलको भनाइ छ ।

वर्तमान सरकार जेनजी आन्दोलनको भावनाअनुसार नभई आन्दोलनलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा चलेको उनले आरोप लगाए । महासचिव पोखरेलले नवयुवाको भावनाको कदर, मुलुकमा सुशासनको प्रत्याभूति र विधिको शासन स्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन् ।

एमाले नवयुवाको भावना र जायज माग सम्बोधन गर्न उनीहरूसँग मिलेर अघि बढ्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले पार्टी हिजो पनि नवयुवाको पक्षमा रहेको, आज पनि रहेको र भविष्यमा पनि रहने दाबी गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस