• २०८३ असोज ६ गते मङ्गलवार

जाजरकोटका स्वास्थ्य संस्थालाई ५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

खिमराज गिरी पढ्न लाग्ने समय : २ मिनेट

भदौ १५, काठमाडौं । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगमा विभिन्न राहत तथा सहयोग अभियान सञ्चालन भइरहेका बेला काठमाडौँमा सक्रिय तारा शर्मा लगायतका युवाहरूको समूहले जाजरकोटका स्वास्थ्य संस्थालाई करिब ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। गत भदौ १० गते रसुवागढी नाका नजिक चीनतर्फको भूभागमा हिमनदी थुनिएर अचानक आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा ठूलो धनजनको क्षति पुर्‍याएपछि देश तथा विदेशमा रहेका नेपालीहरूले पीडितका लागि राहत तथा सहयोग अभियान सञ्चालन गरिरहेका छन्।

यसै क्रममा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै उक्त युवा समूहले जाजरकोटका विभिन्न स्थानीय स्वास्थ्य चौकीमार्फत वितरण गर्ने उद्देश्यले भेरी नगरपालिका, जाजरकोटलाई करिब ५ लाख रुपैयाँ बराबरका १५ प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। समूहका अनुसार विशेषगरी सुत्केरी महिला तथा नवजात शिशुका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ। त्यसैगरी बालबालिकाका लागि आवश्यक सामग्री तथा दन्त उपचारसँग सम्बन्धित सामग्रीसमेत हस्तान्तरण गरिएको छ। दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा सीमित स्रोत–साधनका कारण सामान्य स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या हुने अवस्थामा प्राप्त सहयोगले स्थानीय नागरिकलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।

राहत तथा सहयोगमा मात्र सीमित नभई उक्त युवा समूहले काठमाडौँमा ‘हाम्रो दरबार कहिले बन्छ?’ भन्ने अभियानमार्फत सरकार तथा सम्बन्धित निकायलाई जनसरोकारका विषयमा खबरदारी गर्ने कार्यक्रमसमेत अघि बढाइरहेको जनाएको छ। सामाजिक उत्तरदायित्व र नागरिक खबरदारीलाई सँगसँगै अघि बढाउने युवाहरूको प्रयासले समाज परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण हुने सन्देश दिएको छ।

विपत्तिको समयमा सहयोग भनेको आर्थिक सहायता वा सामग्री उपलब्ध गराउनु मात्र नभई पीडितको वास्तविक आवश्यकता पहिचान गरी सही ठाउँमा सही सहयोग पुर्‍याउनु पनि हो। जाजरकोटका सुत्केरी महिला, बालबालिका तथा स्वास्थ्य संस्थालाई लक्षित गरी गरिएको यो सहयोग त्यसैको उदाहरण बनेको छ।

यस्ता अभियानले गाउँदेखि सहरसम्मका युवायुवतीमा रचनात्मक सोच, सामाजिक उत्तरदायित्व र सहयोगको भावना अझ बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। संकटका बेला सरकारको मात्र मुख नताकी आफ्नो क्षमताअनुसार सहयोग गर्ने संस्कार विकास गर्न सके समाज थप बलियो बन्न सक्छ।

विपत्तिको समयमा हातेमालो गर्ने संस्कारलाई निरन्तरता दिनु सबैको साझा दायित्व हो। आजको सानो सहयोग कसैका लागि जीवनको ठूलो सहारा बन्न सक्छ।

Sharing

प्रतिक्रिया दिनुहोस